मेस्सी राष्ट्रिय टिममा फर्किए, सन्यासको घोषणा फिर्ता
साउन २९ – स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झण्डै दुई महिना अघि अमेरिकामा भएको
कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो । मेस्सीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णयमा पुनर्विचार गर्न चौतर्फि दबाब परेको थियो ।
अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेश छ । आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् ।
उनले एक बयान जारी गरेर आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने बताएको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन् ।
अर्जेन्टिनाका नयाँ प्रशिक्षक एडगार्दो बाउसाले यही हप्ता बार्सिलोना गएर मेस्सीसँग छलफल गरेका थिए । २९ वर्षका मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...