-->
होली हो !!!

चैत्र ९, २०७२- स्कुल पुग्दासम्म उनी निथ्रुक्कै भिजेकी थिइन् । होलीको बहानामा उनलाई पानी छ्याप्ने धेरै हुन्थ्ये । त्यसबेलासम्म उनी नायिका करिश्मा मानन्धर भइसकेकी थिइनन् । बाल्यकालको होली सम्झँदै करिश्माले भनिन्, ‘भिजेरै स्कुल गएकी छु सानुमा । रुझ्नुको चिन्ताभन्दा पनि ज्यान जोगाउन डर हुन्थ्यो उहिले ।’

अहिले चाहिँ यस्तो विकृति हट्नुपर्ने बहस सुरु भएकोमा करिश्मा खुसी छिन् । ‘समाज सचेत हुँदै छ,’ उनले सुनाइन्, ‘रंगमा पो होलीको असली मज्जा हुन्छ ।’

करिश्माले कहिल्यै यो पर्वसँग झर्को भने मानिनन् । बरु योजना बनाउँदै बृहत्त रूपमा साथीभाइ भेला पारेर रंग लगाउने परम्परा नै बसालेकी छन् । त्यो पनि आफ्नै घरमा (गोदावरी) । विगत ६/७ वर्षयता उनकोमा होली खोल्ने साथीहरू बढ्दै छन् । यसपटक करिश्माले ४ सयभन्दा बढी साथीभाइ घर बोलाएकी छन् ।

छिमेकीदेखि फिल्म उद्योगका अधिकांश व्यक्तित्वलाई होलीमा निम्तो गर्छिन् उनी । ‘फिल्म उद्योग ठुलो हुँदै छ, साथीहरू स्वाभाविक बढ्ने नै भए,’ करिश्मा थप्छिन्, ‘पुराना पुस्तासँगको भेटघाट र नयाँ माझ चिनजानको वातावरण पाउँछु ।’ खासगरी मस्तसँग नाच्ने, मिठो परिकार खाने र साथीभाइसँग खुलेर रमाइलो गर्ने हुँदा होलीको अवसर उनी छुटाउन चाहँदिनन् । नचाहँदै पनि गतवर्ष भने फिल्म ‘फागु’ को सुटिङमा उनी व्यस्त रहिन् । तैपनि तराई क्षेत्रमा मनाइने होली त्यहाँ पुगेर उनले नजिकबाट नियाल्ने मौका पाएको बताइन् ।

विभिन्न रंगले अनुहार रंग्याउँदा शरीरमा एक किसिमको ताजगी पैदा हुन्छ । अनि नाच्दा मन नै चंगा भएको महसुस गर्छिन् करिश्मा । ‘होलीका टन्नै गीत कलेक्सन गरेकी छु,’ उनले भनिन्, ‘तिनै गीतमा मज्जाले नाच्ने योजना छ ।’ सुटिङको क्यामेरा अघिल्तिर नाच्नु र बाहिर आफ्नै तालमा नाच्नुमा धेरै भिन्न अनुभूति हुने उनले बताइन् । ‘होलीमा पन्छीझैँ नाचिन्छ,’ उनले भनिन्, ‘क्यामेरामा त निर्देशकले बन्धनमा ।’

अर्की नायिका रेखा थापा हरेक पर्वलाई उत्तिकै महत्त्व दिन्छिन् । नचिनेकासँग पनि रंगमार्फत मित्रता बढाउन सकिने भएकाले उनलाई होली विशेष लाग्छ । यो पटकको होलीमा रेखा चैत २६ गते प्रदर्शन सुरु हुन लागेको फिल्म ‘रामप्यारी’ को रूपमा देखा पर्नेछिन् । ‘मौका त छोप्नै पर्यो नि,’ उनले भनिन् । सधैं आफूलाई छोटा पहिरनमा राख्न रुचाउने रेखा होलीको दिन चाहिँ पूरै पहिरनमा हुने बताइन् । रंग र पानीले छालामा एलर्जी हुन सक्ने उनलाई डर छ । ‘तर, अति नै गर्मी भए
छोटै लगाइदिन्छु,’ उनले भनिन्, ‘बेदाग पहिरनमा दाग लगाउन सेतै लुगा लगाउँछु ।’

प्राय: देशविदेश कन्सर्टमा व्यस्त रहने शिव परियारले भने होली पर्व आफ्ना लागि मात्रै छुट्टयाएका हुन्छन् । उनी होलीमा सकेसम्म काठमाडौं बाहिर जाँदैनन् । ‘कति पैसाको पछाडि दौडनु ?’ उनले काठमाडांैमा हुने विभिन्न कन्र्सटको निम्तोमा प्राय: पैसा नलिने दाबी गरे । होलीको दिन मंगलबार झापाबाट उनी दिउँसोसम्म काठमाडौं फर्किने बताए ।  

सौगात मल्ल कम बोल्ने कलाकारमा पर्छन् । खासै बाहिरी दुनियाँमा रमाउन मन नपराउने उनी होलीमा भने खुलेरै लाग्छन् ।

‘होली अचम्मको पर्व लाग्छ,’ उनले भने, ‘रंगीन भएर पनि यसमा शालीनता पाउँछु ।’

गुरुकुलमा प्रवेश भएर रंगकर्मी हुँदा ताकादेखि नै होलीको महत्त्व चाख्दै आएको उनले बताए । यसपटक मण्डला थिएटरमा अग्रज रंगकर्मीसँग आशीर्वाद लिएर साथीहरूसँग रंगीन बन्ने उनको योजना छ । यसबाहेक फेरि ‘लुकामारी’ फिल्मको टिमसँगै उनले विभिन्न स्थानमा घुम्न जाने योजना बनाएका छन् । ‘ककनी जान्छु होला,’ उनले भने । होलीको दिन बिहान गल्फुटार गई हजुरआमाको हातबाट पहिलो रंग लगाई उनी दिदीसमक्ष पुग्नेछन् । अनि मात्रै साथीभाइसँग रंग खेल्न जाने उनले बताए ।

गायक शिवको भन्दा फरक धारणा छ गायिका इन्दिरा जोशीको । उनी सकेसम्म गीत गाउनेका लागि होली हेल्दी नहुने बताउँछिन् । त्यही भएर उनी होलीमा गला सुरक्षित राखेर रंग दल्ने सुरमा छिन् । जन्मथलो नवलपरासीमा बाल्यकालमा मनाएको होली उनलाई सबैभन्दा प्यारो लाग्छ । राजधानीका विभिन्न कार्यक्रममा प्रस्तुत हँुदै होली मनाउने योजना बनाएकी इन्दिराले पुराना दिन सम्झिन्, ‘सानो छँदा पिचकारी लिएर लुकीलुकी हान्थें । अहिले गीत गाएर अरूलाई खुसी बनाइन्छ ।’




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.