-->
बेलायती राजकुमार बर्दियामा, नदीमा गरे जलयात्रा

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ बर्दिया पुगेका छन्।  बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका लागि सोमबार विहान राजकुमार ह्यारी बर्दिया पुगेका हुन्। 

 
राजकुमार ह्यारी बर्दिया आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिए। निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो। राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो। 
 
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुहुनेछ । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन्। 
 
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ। निकुञ्जका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन्। 
 
आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनुहुनेछ। पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानुहुनेछ। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।रासस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.