-->
टेनिस कोर्टमै फर्कन चाहन्छिन् सारापोभा

मस्को: शक्तिवद्र्धक औषधि सेवन गरेको आरोपमा प्रतिबन्धमा परेकी शीर्ष विश्व वरीयताकी टेनिस खेलाडी मारिया सारापोभाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन्।
 
सारापोभाले आफूले खराब परिस्थितिको सामना गरिरहेको अवस्थामा समेत विश्वास र समर्थन पाएको भन्दै फेसबुकमार्फत समर्थकलाई धन्यवाद दिएकी हुन् । सारापोभाले सोमबारमात्रै आफू शक्तिवद्र्धक औषधि सेवनको परीक्षण (डोपिङ) मा असफल भएको खुलासा गरेकी थिइन्।
 
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले सारापोभाले प्रतिबन्धित शक्तिवद्र्धक औषधि मेलडोनियम प्रयोग गरेको जनाएको थियो। सारापोभाले आफूले पछिल्लो १० वर्षयता आफ्नो स्वास्थ्य अवस्थाका कारण निजी चिकित्सकको सल्लाहमा उक्त औषधि सेवन गर्दै आएको बताएकी छन्। उनले आफूले प्रयोग गरेको मेलडोनियम वाडाको प्रतिबन्धित औषधिको सूचीमा रहेको बारे आफूलाई जानकारी नभएको पनि स्पष्ट पारेकी छन्।
 
वाडाको प्रतिवेदनसँगै सारापोभालाई अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले १२ मार्चबाट लागू हुने गरी अन्तर्राष्ट्रिय टेनिसबाट प्रतिबन्ध लगाउने निर्णय सुनाएको थियो। सारापोभाले आफ्ना समर्थकबाट हजारौं इमेल प्राप्त भएको र ती इमेलमा आफूमाथि विश्वास व्यक्त गरिएको बताएकी छन्।
 
'बिहान फेसबुक खोल्दा म्यासेज बक्स हजारौं सन्देशले भरिएका थिए', सारापोभाले फेसबुकमा लेखेकी छिन्, 'ती सन्देशमा सबै फ्यानले मप्रति विश्वास देखाउनुभएको छ, यो विश्वास र समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु।' 
 
पाँच पटककी एकल ग्रान्डस्लाम विजेता २८ वर्षीया सारापोभाले आफूले फेरि टेनिस खेल्ने विश्वाससमेत व्यक्त गरेकी छन्। 'म यो अवस्थाको समना गर्न चाहन्नथिए तर, दुर्भाग्यवश यही अवस्था भोगिरहेकी छु', उनले भनेकी छिन्, 'तर म फेरि टेनिसमा फर्कनेछु।'
 
डोपिङ टेस्टमा असफल भएपछि प्रायोजकहरूबाट एक्लिएकी सारापोभालाई र्याकेट उत्पादक कम्पनी हेडले भने साथ दिने भएको छ। हेडले सारापोभासँगको सम्झौता कायमै रहने जनाएको छ। 
 
सारापोभा डोपिङ टेस्टमा असफल भएको खबर सार्वजनिक भएपछि उनलाई प्रायोजन गर्दै आइरहेका कम्पनी नाइक र ट्याग हेयुरले उनको साथ छाडेको घोषणा गरेका थिए। यसैगरी गाडी उत्पादक कम्पनी पोश्र्चेले उनीसँगको सम्बन्ध तत्काललाई स्थगित गरिएको जनाएको थियो।
 
यसैबीच, स्पेनिस टेनिस स्टार राफेल नाडालले आफूले चोटबाट मुक्त हुन कुनै पनि शक्तिवद्र्धक औषधि प्रयोग नगरेको स्पष्ट पारेका छन् । पछिल्लो समय चोटग्रस्त रहेका नाडाल त्यसबाट मुक्त हुन सकेका छैनन्।
 
सारापोभाले शक्तिवद्र्धक औषधि सेवन गरेको पुष्टि भएपछि नाडालमाथि पनि चोटबाट छिटो मुक्त हुन प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोग गरेको आरोप लागेको थियो।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.