-->
१६ वर्षमुनिमाझ 'सेक्सटिङ' अति लोकप्रिय ।

१६ वर्षमुनिमाझ 'सेक्सटिङ' अति लोकप्रिय
लन्डन–किशोर किशोरीमाझ मोबाइलमा गरिने टेक्स्ट म्यासेजमा यौनिक सन्देश आदानप्रदान सोचेभन्दा बढी तीव्र गतिमा बढेकामा चिन्ता व्यक्त गर्न थालिएको छ। बेलायतको लेबर पार्टीले गरेको एक अध्ययनले यो देखिएको भन्दै पार्टीकी छायाँ शिक्षा सचिव लुसी पावेलले उमेर सुहाउँदो यौन शिक्षा बेलायती स्कुलहरूमा दिनुपर्ने बताएकी छिन्।
लेबर पार्टीले निजी, सामाजिक, स्वास्थ्य र आर्थिकजस्ता कक्षासँगै यौन शिक्षालाई पनि कानूनी रुपमा मान्यता दिनुपर्ने पावेलले जोड दिएकी छिन्। यस विषयलाई सरकारले पुनर्विचार गर्न उनले आग्रह गरेकी छिन्। यौन र यौनिक सम्बन्धबारे ११ वर्षको उमेरदेखि राष्ट्रिय पाठ्यक्रममा हालै अनिवार्य गरिए पनि यति सानो उमेरमा बालबालिकालाई यौन शिक्षा आवश्यक नभएको टिप्पणी गरेका थिए । जसका कारण सरकारले आफ्नो योजना सन् २०२२ सम्म तन्काएको थियो ।
सन् २००० यता यस्तो पाठ्यक्रममा सुधार नगरिएको र इन्टरनेट आउनुअघि बनाइएको पाठ्यक्रम समयानुकूल नभएको लेबर पार्टीको भनाइ छ ।

अति छाडा म्यासेज

पार्टीले सन् २०१३ मा १६ वर्षभन्दा कम उमेरका किशोर किशोरीले दिनमा १३ पटकभन्दा बढी 'सेक्सटिङ'मा रमाउने गरेको तथ्यांक पेस गरेको छ । यो क्रम बढेर सन् २०१५ मा ६६५ पटक पुगेको भनाइ छ । पछिल्लो समय ह्वाट्स एप र स्न्याप च्याटजस्ता मोबाइल एपले यौन आशयका म्यासेज आदानप्रदान बढेको भन्दै पार्टीको ध्यानाकर्षण भएको हो । उमेरै नपुगी टिन्डर र ग्रिन्ड्रजस्ता डेटिङ वेबसाइटमा सहभागिता बढेकोमा चिन्ता गरिएको हो । 'यस्ता क्रियाकलापले किशोरकिशोरीबीच खतरा बढेको हो,' पावेलले भनिन्, 'उनीहरू तयार हुनुअघि नै वयस्क क्षेत्रमा तानिँदै जान थालेका छन् ।' 'उनीहरूले अनलाइन वा अफलाइनमा सम्बन्धलाई स्वस्थ बनाउन सिक्नुपर्छ साथै अनलाइनमार्फत् हुने शोषणबारे गुनासो गर्न आत्मविश्वासी पुस्ता तयार गर्न आवश्यक छ,' पावेलको धारणा छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.