-->
मृत्यु जितेर घर फर्केकालाई नागरिक अभिनन्दन

सुर्खेत कालिकोटमा भएको जहाज दुर्घटनामा बाँच्न सफल भएकाहरुलाई जुम्लामा भव्य अभिनन्दन तथा स्वागत गरिएको छ ।  मृत्युलाई जितेर घर पुगेका दुर्घटनाका घाइतेहरुलाई जुम्ला सदरमुकाम खलंगामा बुधवार स्थानीय नागरिकहरुले भव्य रुपमा अभिनन्दन गरेका छन् । 
गत फागुन १४ गते नेपालगंजबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखायामा दुर्घटनामा परेको थियो । 
 
उक्त दुर्घटनामा घाइते भएका यात्रुहरु उपचारपछि बुधवार घर फिर्ता भएका छन् । दुर्घटनामा मृत्युलाई जितेर घर फिर्ता भएको भन्दै जुम्लावासीले उनीहरुको भव्य सम्मान गरेका हुन् । स्थानीय नागरिकले बाजागाजासहित दुर्घटनामा बाँच्न सफल भएकाहरुलाई नगर परिक्रमा समेत गराएका छन् ।
 
जहाज दुर्घटनामा घाइते भएका जुम्ला चन्दननाथका मेघराज गिरी, जगदम्बा खत्री र उनका छोरा उपचार गरी बुधवार जुम्लामा रहेको घरमा पुगेका हुन् । 
 
स्थानीयले उनीहरुलाई विमानस्थलबाटै बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गराएका छन् । तारा एयरमाफर्त जुम्ला पुगेका उनीहरुलाई विमानस्थलबाट चन्दनाथ मन्दिर हुँदै खलंगा बजारको परिक्रमा गराएका थिए । 
 
ठूलो दुर्घटनामा पनि आफन्तहरु भाग्यले बाँच्न सफल भएको भन्दै छिमेकीहरु स्वागतका लागि जुम्ला विमानस्थलमै पुगेका थिए । 
आफ्ना छिमेकीहरु दुर्घटनाबाट जोगिएर घरमा आएको खुशीयालीमा जुम्लामा स्थानीय बासिन्दाले दुर्घटनामा बाँचेकाहरुलाई अभिनन्दन गरेका हुन् । स्थानीयले दुर्घटनामा बाँच्न सफल भएकाहरुलाई अविर र माला लगाएर सम्मान गरेका थिए ।
 
कालिकोटमा भएको उक्त जहाज दुर्घटनामा क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो । जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गराउने क्रममा जहाज दुर्घटनामा परेको थियो । 
 
दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये जुम्लाका तीन जना बुधवार उपचारपछि घर फिर्ता भएपनि अन्य यात्रुहरु भने अस्पतालमा उपचार गराइरहेका छन् । 
 
जहाज दुर्घटनामा आफन्तहरु घाइते भएको खबर सुनेका जुम्लावासीहरु उपचार सकेर घरमा पुगेपछि खुशी भएका हुन् । साथै उनीहरुले आफन्तहरु निको भएर गाउँ फिर्ता भएको भन्दै खुशीयाली समेत मनाएका छन् । 
 
मृत्युलाई जितेर घर फर्किएका आफन्त घर आउन लागेको जानकारी पाएपछि छिमेकीहरु बाजागाजा, अविर र मालासहित विमानस्थल पुगेका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.