यो सामान्य होइन, ऐतिहासिक गफ हो । यो गफ केही दिनअघि नै सार्वजानिक गर्न खोजिएको थियो, तर विशेष अवसरमा बाहिर ल्याउनुपर्ने सुझाव सम्पादक सुवास ढकालको रह्यो । मित्र कृष्ण भट्टराईले फागुपूर्णिमा नै यसका लागि विशेष समय भएको बताउनुभएपछि यो ऐतिहासिक गफलाई प्रकाशित गरिएको हो ।
साग र माछा अर्थात् सगरमाथा
अनादिकालमा नेपालको हिमालय क्षेत्र भन्ने नै थिएन । कञ्चनजंघादेखि शैपाल हिमालसम्म पूर्व पश्चिम बग्ने विशाल नदीमात्र थियो । नदीको पारिपट्टि सागिर मूलका मानिस बस्थे भने वारिपट्टि माथिर जातिको बसोबास थियो ।
दुवै जातिबीच राम्रो सम्बन्ध थियो । त्यहाँ धान फल्दैनथ्यो । उनीहरूखानाका रूपमा बारीमा फलेको साग र त्यही नदीको माछा बाँडेर खान्थे । यसै कारण त्यो नदीको नाम पनि ‘साग र माछा’ राखिएको थियो, जुन स्थानलाई अहिले सगरमाथा भनिन्छ ।
एक दिन माछा मार्ने विषयमा दुई पक्षीय युवाहरूबीच ठूलो झगडा भयो । दुवै पक्ष घरेलु हतियारसहित वारिपारि भेला भए । स्थिति भयाभव हुने देखे पनि दुवै जातिका दुई जना बुज्रुक नदीको बीचमा पुगे र भिडन्त रोक्ने प्रयास गरे ।
आक्रोशित युवाहरू रिसको झोकमा यति पागल भएका थिए कि खोलाको बीचमा आफ्ना बाजेहरू ढाल बनेर उभिएको पनि देखेनन् । गुलेली, मट्यांग्रा, तीर, धनुकाँण एक–अर्कामाथि बर्साइरहे । दुई बूढाले दुवैतिरबाट बर्सिइरहेका हतियार आफ्नो शरीरले छेकिरहे र आफन्तको ज्यान जोगाइरहे । ईष्र्याले आगो भएका भए युवाहरूले तबसम्म आक्रमण गरिरहे, जबसम्म ती बूढाहरूको मृत्यु भएन ।
वृद्धहरूको दर्द देखेर ‘साग र माछा’ नदी पनि रुन थाल्यो । रुँदारुँदै आँसु सकिएर नदी हिउँ बन्यो । माछाहरू हिउँमा पुरिएर त्यो नदी हिउँको पहाडजस्तो अग्लिँदै गयो । जब लडाइँ रोक्न ‘साग र माछा’ नदीमा पसेका वृद्धहरूको मृत्यु भयो तब दुवै पक्षले थाहा पाए कि उनीहरूले आफ्नै हजुरबाहरूलाई मारेछौं भन्ने कुरा ।
बल्ल सबै जना रुन थाले । दुवै गाउँलेको आँसु पनि ढिकाढिकै बनेर हिउँको पहाड झन् अग्लो बन्यो । यही हिम चुचुरो अहिले सगरमाथाको नामले विश्वचर्चित भएको फागु गफले तपाईं मनमा एकछिन मीठो तरंग ल्यायो कि ल्याएन, कुन्नि !
त्राहि हिमाल र सीता मैयाको दिव्यवाणी
अहिले जुन ठाउँलाई मधेस भनिन्छ, आदिकालमा त्यो विशाल हिमाल थियो । भगवान् श्रीराम जनकपुर आउँदा ‘आम लेक भन्ज्याङ’मा बास बसेका थिए जुन अहिले अमलेखगन्जका रूपमा चर्चित छ । चरिकोट, सिमिकोट, नुवाकोटजस्तै लुम्बिनीको तिलौराकोट पनि पहाडमै थियो ।
बार्है महिना हिउँले ढाकिरहने त्यो ठाउँमा जान धेरै जना डराउँथे । मानिसहरू त्यता हेर्नुपर्दा ‘त्राहि–त्राहि’ भन्थे । बिस्तारै त्यो हिमालको नाम ‘त्राहि हिमाल’ हुनपुग्यो । त्यही त्राहि–त्राहि अपभ्रंश भएर तराई भनिन थालिएको हो ।
जब रावणले सीतालाई हरेर लंका पुर्यायो, तब ‘त्राहि हिमाल’ को पतन सुरु भयो । हनुमानको नेतृत्वमा लंका जाने क्षार समुन्द्र पुर्ने काम थालियो । समुन्द्र पुर्न भारतको माटोले नपुगेपछि नेपालको दक्षिणी सिमानामा रहेको हिमाल फोर्न आदेश भयो । बानर सेनाहरूले त्राहि हिमालका सबै लहरा, पहरा, छहरा भत्काए । एक–एक गर्दै रूख–बिरुवा, ढुंगा, माटो सबै दक्षिण भारत पुर्याइयो र त्यो सुन्दर हिमाललाई जर्जर मरुभूमि बनाइयो ।
लंकाबाट फर्किएपछि सीताले रामलाई ‘म देश जान्छु’ भनिन् । लक्ष्मणको साथ लागेर सीता जनकपुर पुगिन् । त्यहाँ उनले सुन्दर पहाड देखिनन् । तिलौराकोटको डाँडो भेटिनन् । जताततै सुख्खा बगरमात्र थियो । लक्ष्मणले बताए, तपाईंलाई बचाउन यो पहाड भत्काइएको हो ।
सीता मैयाँलाई खुब पछुतो भयो । आफ्ना कारणले माइती देशको सुन्दरता बिग्रिएकोमा पनि भक्कानिएर रुन थालिन्, उनका आँसुले कोसी र गण्डकी नदी बने । पाप मोचनका लागि वर–पीपल रोपिन्, फैलिएर चारकोसे झाडी बन्यो । जमिनमा तिल जौ चढाइन्, त्यहाँ सुन्दर फाँटहरू बने । पसिना झारिन्, त्यो ठाउँ उर्वर भूमि बन्न पुग्यो ।
राजा जनकले आधा देश दाइजो दिन खोजे । सीताले सोझै अस्वीकार गरिन् । भनिन्, ‘म दाइजो होइन, देश चाहन्छु ।’ जनक भावविभोर भए । सीता माताको त्यही ‘म देश चाहन्छु’ भन्ने दिव्य वाणी नै कालान्तरका ‘म देश’ हुँदै ‘मधेस’ हुन पुगेको कुरा होलीको अवसरमा ऐतिहासिक गफमात्र हो । होली रे !!
गजु Real
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...