-->
‘जुनियर शक्ति गौचन’ नामिबियाका लागि सरप्राइज बलर !

२५ चैत, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीका तीन नयाँ अनुहारमध्ये एक सुशन भारी हुन् । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका कारण राजु रिजाल र सन्दिप लामिछाने पर्नु अपेक्षित थियो ।

तर, लामो समयदेखि टीममा नपरेका सुशन टिममा पार्न सफल भएका छन् । उनले पछिल्लो पटक खेलेको अन्तराष्ट्रिय खेल २०१३ मा मलेसियामा भएको एसीसी यू-१९ एलिट कप थियो ।

तीन वर्ष लामो संघर्षपछि सिनियर टिममा पर्न सफल भएका छन् सुशन । र, उनलाई प्रशिक्षक जगत टमाटाले नामिबियाविरुद्ध हुने खेलमा सरप्राइज बलरमा प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।

२१ वर्ष सुशनलाई ‘टिममेट’हरुले जुनियर शक्ति गौचन (शक्ति गौचनको चेला) पनि भन्छन् । शक्ति गौचनबाटै प्रभावित र प्रशिक्षित उनी शक्तिले जस्तै स्लो लेफ्ट आर्म बलिङ गर्छन् ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा औसत प्रदर्शन गर्दै आएका उनले यो पटक बन्द प्रशिक्षणमा लोभलाग्दो प्रदर्शन गरेका छन् ।

सुरुका चार खेलमा १५ विकेट लिएर सर्वाधिक विकेट टेकर बनेका उनले त्यसपछि पनि हरेक खेलमा विकेट लिइरहेका छन् ।

र, नेपालको सिनियर टिमबाट खेल्ने सपना पूरा गर्दैछन् । टिममा परेपछि सुशनले अनलाइनखबरसँग भने, ‘सिनियर टिमबाट खेल्ने मेरो सपना थियो । र, कोच (शक्ति)ले पनि तिमीले राम्रो गर्न सक्छौं, नेपालबाट खेल्न सक्छौं भन्नु भएको थियो । अब त्यो पूरा भएको छ ।’

२१ वर्ष सुशनका क्रिकेट गुरु शक्ति गौचन हुन् । २०६० तिर उनले शक्तिलाई आफू पढ्ने बुटवलको न्यू होराइजन स्कुलमा भेटेका थिए । ‘म कक्षा ६ मा पढ्थें । शक्ति गौचन आउनु भएको छ, जाउँ भनेर एक जना साथीले भन्यो,’ उनले भने, ‘उहाँले मेरो खेल हेर्नु भयो । र, म यहाँसम्म आएँ ।’

सुशन आफ्नो क्रिकेट यात्राको श्रेय शक्तिलाई नै दिन्छन् । र, संयोग पनि कस्तो परेको छ भने उनी र शक्ति दुबै स्लो लेफ्ट आर्म स्पिनर हुन् । अहिले दुबै एकसाथ नेपाली टोलीमा परेका छन् ।

सुुशन सुरुमा फास्ट बलर थिए । त्यसपछि ब्याट्सम्यान बने । उनले अघि भने, ‘कक्षा ७ मा पढ्दै गर्दा मैले एक बल थ्रो गरें, त्यो बल टर्न भयो र उहाँ (शक्ति)ले स्पिन बलिङ गर भन्नु भो ।’

त्यहाँबाट सुशन स्पिन बलर बने । आउँदो वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध हुने खेलमा राम्रो प्रदर्शन गर्ने  उनको विश्वास छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.