-->
पानीका लागि रातभर जाग्राम -

वैशाख १, २०७३- दिउँसो पानी नपाइने कारणले रामपुरका महिला राति हुल बाँधेर गीत गाउँदै ओरालो झर्छन्। ‘राति भूतप्रेतको डर हुन्छ,’ रामपुर ५ डाँडाटेलकी सुजाता तामाङले भनिन्, ‘एक्लै हिँड्ने कुरा भएन। जो पहिले उठ्छ, त्यसले अरूलाई बोलाउने अनि हुल बाँधेर पँधेरामा जाने।’

हरेक परिवारमा दैनिक सरदर ६ गाग्री पानी चाहिन्छ। परिवार ठूलो भएकालाई त्यतिले पुग्दैन। वस्तुभाउ पनि महिलाहरूले ओसारेको पानीमै निर्भर छन्। डेढ घण्टा टाढाको मुलमा पुग्नु त छँदैछ, निद्रासमेत माया मार्नु परेको छ महिलाले। ‘पानीले खायो जोवन,’ धाराखोलाबाट पानी बोकेर उक्लिँदै गरेको तामाङले गुनासो गरिन्, ‘न बालबालिका भन्न पाइन्छ न त आरामले निदाउन नै। पानी बोक्दैमा जिउ सुकिसक्यो।’

 भूकम्प जानुअघि पनि गाउँमा पानीको सुविधा थिएन। झन्डै आधा घण्टा बोक्नै पथ्र्यो। स्थानीय कमला तामाङ भन्छिन्, ‘सुक्ख न पहिले थियो न अहिले।’ पानी अभावकै कारण रामपुरमा एक सातासम्म रामपुरमा नुहाइधुवाई गर्ने चलन छैन। ‘एकैपटक डोकोभरि लुगा बोकेर खानीखोला झर्ने गरेका छौं,’ डाँडाटोलकी सुकुमाया तामाङले भनिन्, ‘लुगा धुन र नुहाउन त झनै तल धाउनुपर्छ।’

डाँडागाउँ र काभ्रेमा खानेपानी सबैभन्दा पीडाको विषय हो। बेरोजगारी र कम उत्पादनका कारण बेसाहा खोज्नुपर्छ। त्यहाँको अभाव टार्न गरिबी निवारण कोषले आश देखाएको पनि दुई वर्ष बितिसकेको छ। ‘पानी ल्याइदिने आश्वासन दिँदै हामीलाई महिनांै श्रममा लगायो,’ स्थानीय रामदास वाइवाले भने, ‘गरिबी निवारण कोषले जिल्यायो।’ पानी आउने आशामा गाउँलेले घरमा पालेको भाले बिक्री गरेर पनि नगद जुटाए। ६० परिवारले १० हजारका दरले चन्दा पनि जुटाए। त्यसमध्ये करिब चार लाख रुपैयाँ बाँकी छ।

कोषले अलपत्र पारेपछि गाउँलेले रेडक्रसलाई गुहारेका छन्। ‘अब रेडक्रसले अभियान थाल्लाजस्तो छ,’ गाविस सचिव लक्ष्मण भुजेलले भने। गाविसले समेत पानीका लागि पहिलो प्राथमिकतामा योजना तयार पारेको छ। यस वर्ष गाविसबाट पाँच लाख विनियोजन भएको छ।

रेडक्रसहरूको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा रामपुरमा एकीकृत कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला शाखा सभापति शिवकुमार कार्कीले बताए। ‘हामीले काकाकुल वस्तीमा पानी पुर्याउन काम थालिसकेका छौं,’ उनले भने, ‘सर्वे डिजाइनदेखिका काम तत्काल अघि बढ्ने छन्।’

बिजुलीको सहयताले खानीखोलाको पानी तानेर डाँडाटोलमा निकाल्ने माग स्थानीय बासिन्दाकै हो।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.