-->
लमजुङमा बेसीशहर महोत्सव सुरु [फोटो फिचरसहित]

चैत्र २४, २०७२- सदरमुकाम बेसीशहरमा बुधबारदेखि प्रथम बेसीशहर महोत्सव सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ आयोजित महोत्सव बैशाख २ गतेसम्म सञ्चालन हुने छ ।

बेसीशहरको दनाइँफाँटमा आयोजित महोत्सवको बुधबार दिउँसो उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, सांसदहरु टुका हमाल, जमीन्द्रमान घले लगायत छन् । उद्घाटन अघि विभिन्न जातजातिको मौलिक पोषाक, साँस्कृतिक भेषभूषासहितका झाँकी तथा र्याली प्रदर्शन गरिएको थियो । झाँकी तथा र्याली मनाङ्गे चौताराबाट सुरु भएर बजार परिक्रमा गरि कार्यक्रमस्थल पुगेको थियो । महोत्सव स्थलमा १ सय ४० वटा ब्यवसायिकसहित कूल १ सय ६५ वटा स्टल राखिएका महोत्सव आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष कृष्णजंग गुरुङले बताए । उनका अनुसार महोत्सव अवधिभर ५ करोड रुपैँया बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा बिक्री भएको टिकटबाट प्रति टिकट ४ रुपैँया सामाजिक विकासका लागि लगानी गर्ने योजना रहेको संयोजक गुरुङले सुनाए । साधारण ब्यक्तिका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाँ पर्ने टिकटबाट बेसीशहर नगरक्षेत्रमा पर्यटकीय संरचना निर्माणका लागि प्रति टिकट १ रुपैयाँ, जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषको लागि १ रुपैयाँ, बेसीशहर सहजी खेलमैदानको स्तरोन्नति तथा विस्तारका लागि १ रुपैयाँ, तार्कुघाटस्थित जेष्ठ नागरिक आश्रमका लागि प्रति टिकट ५० पैसा र बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिकाका लागि ५० पैसा दिइने उनले बताए ।

महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडिबुटी प्रदर्शनी, सरकारी तथा गैरसरकारी संस्थाका गतिविधि प्रदर्शनी गरिएका छन् । राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, संस्कृति प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी, परम्परागत खाना महोत्सव, जिल्लास्तरीय साहित्यिक कार्यक्रम, विज्ञान, पुस्तक तथा पुष्प प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ । इकाईले शनिबार डिजिटल प्रविधिको सञ्चालन अवसर चुनौति विषयक कार्यशाला समेत संचालन गर्ने जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.