-->
ट्युसन शुल्कको निहुँमा मानसिक यातना ।

चैत्र २६, २०७२- एक निजी विद्यालयका प्रिन्सिपलले एसएलसीको ट्युसन शुल्क नबुझाई परीक्षामा सहभागी भएको भन्दै बिहीबार एक विद्यार्थीलाई बन्धक बनाएका छन् ।

क्यामिन १ कलेस्तीस्थित दोभान बोर्डिङ स्कुलका प्रिन्सिपल सिकन्दर गुरुङले १५ वर्षीय प्रविण कुँवरलाई करिबव २० मिनेट बन्धक बनाएका हुन् ।

ट्युसन कक्षा नै नलिएको आफूलाई गुरुङले ट्युसन शुल्क बापतको ८ हजार ५ सय रुपैयाँ नबुझाए जाँचमा बस्न नदिने भन्दै रोकेको परीक्षार्थी कुँवरले बताए । बिहान ८ बजेर २० मिनेटसम्म विद्यालयबाट बाहिर जान नपाइने भन्दै भित्र राखेपछि मानसिक तनाव भएको उनको भनाइ छ ।

‘अरू साथी परीक्षा दिन गए । तर मलाई भने प्रिन्सिपल सरले पैसा नबुझाई जान पाइँदैन भन्दै भित्रै रोक्नुभयो,’ उनले भने, ‘एकदम नरमाइलो लाग्यो र रोएँ । पैसा लिएर आउँदै छु भनेर ममीले मोबाइलमा भनेपछि बल्ल छोडिदिनुभयो । तनावले गर्दा परीक्षा केन्द्रमा पुगेर पनि लेख्नै सकिनँ ।’ यसअघि पनि प्रिन्सिपल गुरुङले आफूलाई पटकपटक शुल्क नबुझाएको भन्दै तनाव दिँदा अरू दिनको परीक्षासमेत राम्रो नभएको उनले बताए ।

छोराले ट्युसन शुल्क नबुझाएको भन्दै परीक्षा दिनबाट रोकिनु विद्यालयको चरम लापारवाही भएको कुँवरकी आमा विमलाले बताइन् । ट्युसन नै नपढेको छोराको शुल्क मागेर पहिले पनि मानसिक यातना दिने गरिएको दुखेसो उनको छ ।

बचन दिएअनुसार आफूले तत्कालै स्कुलमा पुगेर ६ हजार ५ सय रुपैयाँ बुझाएको उनले बताइन् । तर बोर्डिङ स्कुलका प्रिन्सिपल गुरुङले विमलाले कुनै पनि शुल्क नबुझाएको बताए । कुँवरले स्कुलमा होहल्ला गरेकाले आफूले अनुशासनको पाठ सिकाउँदा केही समय परीक्षा दिन ढिला भएको प्रिन्सिपल गुरुङको दाबी छ ।

‘परीक्षा केन्द्रभित्र १ घण्टासम्म ढिला गरी जान सकिने प्रावधानसमेत भएकाले २० मिनेट ढिला हुनु सामान्य हो,’ उनले भने ।

परीक्षार्थी कुँवर आँसु पुछ्दै ढिला गरी परीक्षा दिन आएको क्यामिन उच्च मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णहरि गैह्रेले बताए ।

‘धेरै समयसम्म केही लेख्न नसकेकाले ५ मिनेट समय थप दिए,’ उनले भने । उक्त केन्द्रमा खटिएका स्रोत व्यक्ति दामोदर खनालले विद्यार्थीलाई मानसिक यातना दिनु निन्दनीय विषय भएकाले यसबारे जिशिअलाई समेत जानकारी गराइसकेको बताए ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.