राजनीतिक आवरणका ‘डन' मुक्त हुँदै जनकपुर
जनकपुरधाम: राजनीतिक आवरणमा आपराधिक क्रियाकलापले ग्रस्त जनकपुर बिस्तारै ‘डन मुक्त' हुँदै गएको छ । वर्ष दिनअघिसम्म पनि आर्थिक रूपमा सबल र राजनीतिक रूपमा संरक्षित ‘डन' हरूको एउटा फोन आउँदा प्रशासनका उच्च अधिकारीहरू आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुन्थे । राजनीतिको आडमा आपराधिक प्रवृत्तिका व्यक्तिहरूले हरेक क्षेत्रलाई आक्रान्त बनाएको थियो ।
प्रशासन, व्यापार, राजनीति, सुरक्षा निकायलगायतका सबै क्षेत्रमा डनहरूको दबदबाका कारण उनीहरूबाट पीडित भएकाहरूलाई न्याय पाउन निकै कठिन हुने गथ्र्यो । अहिले जनकपुर डनहरूको प्रकोपबाट उन्मुक्ति पाउने दिशातर्फ अग्रसर छ ।
कबाडीको पसल सञ्चालन गरेका जनकपुरका सञ्जयकुमार साह राजनीतिक दलका नेताहरूको गुन्डाका रूपमा काम गर्दै पछि आफैं नेता बने । दर्जनौं आपराधिक गतिविधिमा संलग्न रहेका र यस क्षेत्रका नाम चलेको गुन्डा ‘सञ्जय टक्ला' राजनीतिक र प्रशासनिक संरक्षणकै कारण अनैतिक बाटोबाट अकुत सम्पत्ति हासिल गर्न सफल भएका थिए ।
पहिलो संविधानसभामा फोरमबाट र दोस्रो संविधान सभामा सद्भावना पार्टीबाट उम्मेदवार बनी धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित साहको आतंक जनकपुरमा व्याप्त थियो । पाँचजनाको ज्यान जाने गरी भएको जनकपुर बमकान्डमा मुख्य योजनाकार उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका उपाध्यक्ष थिए । साह पक्राउ परेपछि उनको अपराधको साम्राज्य नै भत्कियो । उनी हाल पुर्पक्षका लागि कारागारमा छन् । सांसद्बाट निलम्बित छन् ।
धनुषाको सबैलाका योगनारायण यादव पनि राजनीतिमा कुनै एजेन्डा वा समाजसेवाको भावनाले नभई नेताहरूको छत्रछायामा हुर्केका छन् । जेटीएको जागिर पाएका यादवको कारणबस जागिर छुटेपछि उनी आलु र धानको व्यापार गर्थे ।
२०४६ सालमा देशमा आन्दोलन चलिराख्दा एमालेका एक नेता राजकुमार मण्डलको संगतमा संगठित सदस्यता पाएका यादव पछि आफ्नो पक्षको नेतालाई जिताउन कुटाइ खाने र कुट्नेजस्ता आपराधिक गतिविधि गर्दै सो क्षेत्रको ठूलै बाहुबली बने । उनी आफ्नो पार्टीमा जसको पक्षमा हुन्थे त्यो खेमा बलियो हुन्थ्यो ।
हाल आएर एमालेको वैकल्पिक पोलिटब्युरो सदस्य र जनकपुर अञ्चल इन्चार्ज नै बने । हत्या, अपहरणसहित विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका यादवबाट उनको सम्पूर्ण गाउँनै आक्रान्त भइसक्दा पनि पार्टीबाट उनले सधैं संरक्षण पाउँदै आएका हुन् । हाल यादव आफ्नै गाउँका दुईजनाको हत्या अभियोगमा पक्राउ परी अदालतमा ज्यान मार्ने उद्योगको मुद्दामा पेसीमा रहेका छन् ।
सञ्जय साहको प्रमुख सहयोगी भई काम गर्दै आएका र दोस्रो संविधान सभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट टिकट पाएर धनुषा क्षेत्र नम्बर ६ बाट उम्मेदवारसमेत भएका सञ्चारउद्यमी अरुण सिंघानियाको हत्या अभियुक्त चनरदीप यादव हाल प्रहरी नियन्त्रणमा छन् । राजनीतिको खोल ओढेर अपराधिक क्रियाकलाप गर्दै आएका पूर्वमन्त्रीदेखि लिएर नेताहरू धमाधम पक्राउ पर्न थालेपछि जनकपुरवासीको विश्वास कानुनी राज्यमाथि हुन थालेको छ ।
धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशी राजनीतिक अपराधीहरूलाई कानुनको दायरामा ल्याउनु कठिन भए पनि असम्भव भने नरहेको बताउँछन् । अपराध गर्र्नेको कुनै जात, धर्म वा राजनीतिक दल नभएको हुँदा उसलाई अपराधीको रूपमा मात्र हेरेर न्यायको कठघरामा उभ्याउने प्रयासमा आफूहरू लागि परेको जोशीको भनाइ छ ।
ससानो झैझगडा गर्ने युवालाई संरक्षण दिएर उसलाई ठूलो अपराध गर्नतर्फ अग्रसर गराउने र पछि आफूखुसी प्रयोग गर्ने राजनीतिक चरित्र हाम्रो समाजमा हाबी भएकै कारण सानो झगडिया ठूलो अपराधी बन्ने गरेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका राजनीतिशास्त्र विभागका प्रमुख नवीन मिश्र बताउँछन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...