रियल मड्रिडलाई उल्फ्स्बर्गको झट्का, २-० ले पराजित
काठमाडौंः युईएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले अप्रत्यासित हार ब्यहोरेको छ।
जर्मन क्लब उल्फ्सवर्गको घरेलु मैदान भोक्स्वागन एरिनामा भएको च्याम्पियन्स लिगको अन्तिम आठको भिडन्तमा रियल २–० ले पराजित भएको हो ।
ला लिगाको एल क्लासिकोमा २-१ को जित निकालेको रियल च्याम्पियन्स लिगको भिडन्तमा भने जर्मन क्लबसँग पराजित हुन पुग्यो ।
विश्वकै महंगा स्टार खेलाडीहरुले भरिएको रियलविरुद्ध जित निकाल्ने क्रममा उल्फ्सबर्गले पहिलो हाफमै दुबै गोल गर्यो ।
रियलको डी बक्समा उल्फ्सबर्गका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै रिकार्डो रोड्रिग्वेजले गोल गर्दै १–० को अग्रता दिलाए ।
पहिलो गोल गरेको सात मिनेट नबित्दै उल्फ्सबर्गले अर्को गोल थप्यो । खेलको २५ औं मिनेटमा रियलको डिफेन्स लाइनअप चुकेको अवस्थामा उल्फ्बर्गका लागि म्याक्सिमिलियान आर्नोल्डले गोल गर्दै २–० को अग्रता दिलाए ।
त्यसपछिको पहिलो हाफको बाँकी समय र दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । रियलका रोनाल्डो, बेन्जेमा र ग्यारेथ बेल उल्फ्बर्गविरुद्धको खेलमा फ्लप सावित भए ।
पहिले लेगमा २–० ले पछि परेपछि रियलले अब आफ्नो मैदानमा हुने दोस्रो लेगको खेलमा उल्फ्सबर्गविरुद्ध कम्तिमा ३–० को जित निकाल्नुपर्ने हुन्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...