रेमिट्यान्स लगानी गरी जलविद्युत आयोजना निर्माण गर्ने सरकारी योजना
सरकारले वैदेशिक रोजगारमा गएकाले पठाएको रकम (रेमिट्यान्स) जलविद्युतमा लगानी गर्ने योजना बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै नागरिकले गौरव र अपनत्व महशुस गर्ने गरी कुनै ठूलो आयोजना आम जनताको सहभागिता र स्वदेशी स्रोतबाट सम्पन्न गर्ने योजना रहेको बताए।
‘बालुवामा पानी हाले जस्तै उपभोगमा सकिइरहेको रेमिट्यान्सलाई सदुपयोग गर्न त्यसैमाथि आधारित एक आकर्षक जलविद्युत परियोजना अगाडि बढाउने र निर्माणसँगै प्रसारण विस्तारमा ध्यान दिने सरकारको योजना छ,’ प्रधानमन्त्री ओलीले भने।
ऊर्जा र जलस्रोतको बहुपक्षीय उपयोगका सन्दर्भमा एक वर्षभित्र विद्युत अभाव आधारभूत रूपमा समाप्त पार्न र दुई वर्षभित्र चाहेजति विद्युत खपत गर्ने अवस्था सिर्जना गर्न उर्जामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी लगायत निर्माणाधीन आयोजना तीव्र रफ्तारमा सम्पन्न गरिने बताए। उनले पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता साझा लगानी या बाह्य लगानीका आयोजनालाई समयमै सम्पन्न गर्ने, बुढीगण्डकी, नलसिंहगाढ, नौमुरे जस्ता प्रस्तावित आयोजनाहरूलाई तत्काल अगाडि बढाउने, सौर्य, वायु, जैविक लगायत वैकल्पिक ऊर्जाको विकासमा आफ्नो ध्यान रहेको बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...