चैत्र २६, २०७२- नयाँ वर्षमा नेपाली खेलकुदमा धेरै अपेक्षा गरिएको छ । विशेष गरेर पछिल्लो १२ महिनामा युवा खेलाडीले देखाएको प्रभावकारी प्रदर्शनले वर्ष २०७३ मा नेपाली खेलकुदले अझ राम्रो लय समात्ने आशा गरिएको हो ।
नयाँ वर्षमा केही नेपाली खेलाडीबाट ठूलै आशा गरिएको छ, तीमध्ये केही यस प्रकारका छन् ।
१ . सन्दीप लामिछाने क्रिकेट
फेब्रुअरीमा आईसीसी यू–१९ विश्वकप क्रिकेटपछि चम्किएको नाम हो यो । यू–१९ विश्वकप ह्याट्रिक विकेट लिने उनी पहिलो नेपाली खेलाडी बने । आयरल्यान्डसँग ५ विकेट लिने क्रममा उनले लगातार तीन बलमा विकेट लिएका थिए ।
यू–१९ विश्वकपमा बनेको यो केवल पाँचौं ह्याट्रिक थियो । सन्दीपको यही प्रयासमा आयरल्यान्डसँगको खेल जित्दै नेपाल केवल दोस्रोपटक दोस्रो चरण पुग्यो ।
सन्दीपले यू–१९ विश्वकपमा कुल १४ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा रहे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बनाएको उत्कृष्ट ११ खेलाडीको सूचीमा सन्दीपले पनि स्थान पाए ।
एसोसिएटबाट दुई खेलाडी सूचीमा रहँदा एक सन्दीप थिए । वेस्ट इन्डिजका चार खेलाडीपछि भारत, बंगलादेश, श्रीलंका, इङ्ल्यान्ड र आयरल्यान्डका १–१ खेलाडी समावेश ‘फ्युचर स्टार ११’ मा सन्दीपले पनि आफूलाई उभ्याए ।
एकै विश्वकपमा नेपालबाट सर्वाधिक विकेट लिने मञ्जित श्रेष्ठको कीर्तिमानलाई पनि सन्दीपले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै बराबरी गरे । ‘नेपाली सेन वार्न’ भनेर सन्दीपको प्रशंसा भयो यू–१९ विश्वकपमा ।
विश्व क्रिकेटका जादुगरी अस्ट्रेलियन स्पिनर सेन वार्नका प्रशंसक हुन् उनी । घरमा उनी प्राय: वार्नकै भिडियोहरू हेरेर बस्छन् । त्यसको प्रभाव उनको बलिङमा पनि छ ।
२ . गौरिका सिंह पौडी
१३ वर्षीया स्विमर गौरिका सिंहले १२ औं दक्षिण एसियाली खेलकुदमा सनसनीपूर्ण प्रदर्शन गरिन् । उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी थिइन् ।
व्यक्तिगत स्पर्धामा नेपालले जितेको यो सबभन्दा ठूलो पदक हो । सागमा सहभागी नेपालकी कान्छी खेलाडी उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा २ मिनेट ३३.२६ सेकेन्डसाथ रजत जितेकी हुन् ।
उनले २५ सेकेन्डले आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी थिइन् ।
१२ औं सागमा २ सय मिटर ब्याकस्ट्रोकमा उनले हात पारेको कांस्य अन्तर्राष्ट्रिय पौडीमा नेपालको ऐतिहासिक पहिलो पदक थियो । एकै सागको फरक चार विधामा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी पनि भइन् ।
३ . निमा घर्तीमगर उसु
निमाले जितेको स्वर्ण १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालको पहिलो थियो । उनले थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा स्वर्ण जितेकी थिइन् । कुल १६.८९ अंक हासिल गर्दै स्वर्ण हात पार्ने क्रममा उनले भारत र पाकिस्तानका खेलाडीलाई उछिनेकी थिइन् । १०–१० पूर्णाङ्क रहेको नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक जोडेकी थिइन् ।
पुसमा आफ्नो १६ औं जन्म दिन मनाएकी निमा हक्की स्वभावकी छन् । यसले नै उनलाई सफलताको भोक देखाएको मान्नेहरू धेरै छन् ।
पहिलो अन्तर्राष्ट्रियमै सहभागिताका क्रममा उनले स्वर्ण जित्नुको कारण पनि यही थियो । दुई वर्षअघि उनी दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा छनोट भएर पनि जान पाएकी थिइनन् । उनको आगामी लक्ष्य एसियाली खेलकुद नै छ ।
४ . विमल घर्तीमगर फुटबल
नेपाली फुटबलले २३ वर्षदेखिको उपाधिविहीन यात्रालाई टुंग्याउँदा राम्रो प्रभाव पारेका खेलाडी हुन् विमल । नेपालले एक महिनाको अन्तरमा बंगबन्धु गोल्ड कप र सागमा फुटबलमा स्वर्ण जितेको थियो ।
डिसेम्बरमा भारतमा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल गर्दै नेपालको अन्तर्राष्ट्रिय फुटबलमा एक हजार मिनेटको गोलको खडेरीलाई तोडेका विमलले बंगबन्धु गोल्ड कपमा श्रीलंकाविरुद्ध त्यसलाई निरन्तरता दिए ।
बहराइन यू–२३ विरुद्ध गोल गर्नुका साथै असिस्ट पनि गरेर म्यान अफ द फाइनल बनेका थिए उनी । विमल ‘टेक्निकल’ खेल देखाउँछन् । सागमा यही कौशल देखाउँदा नेपालले स्वर्ण जितेको थियो ।
गिफ्टेड लेफ्ट फुटर विमलले अधिकांश समय विदेशमा खेलेका छन् । उनले नेदरल्यान्ड्सको एफसी ट्वान्टे, बेल्जियमको एन्डरलेक, गेन्क, ब्रुगको युथ टिमबाट खेलिसकेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...