-->
२०७२–सिन्धुवासीको कालो वर्ष

सिन्धुपाल्चोक-हो, क्यालेन्डर फेरिएको छ, १ वैशाख २०७३ । योसँगै सिन्धुपाल्चोकवासीले २०७२ को दुःखद् बिदाइ गरेका छन्। र, जस्ताको अस्थायी टहरोको भित्तामा फेरेका छन् क्यालेन्डर। तर जीवन फेरिएको छैन, दैनिकी बदलिएको छैन। घर छैन, दुःखमा सरकारको भरथेग छैन। 

बिहान–बेलुका हातमुख जोर्न उस्तै धौ–धौ छ। त्यसैले उमंग बोकेर यो नयाँ वर्ष सिन्धुको टहरोभित्र छिर्न सकेको छैन। तैपनि क्यालेन्डर फेर्नुपर्ने बाध्यता छ। बितेका साल सिन्धुवासीका लागि कालो वर्ष सावित भयो। त्रास, शोक, भोक, रोदन, बेदना, छटपटी र पीडा मात्र दियो।

13-tatopani naka-dhruba story2

नयाँ संविधानको लेपनबाहेक सिंगो वर्ष अन्धकारमा गुज्रियो सिन्धबासीकालागि । फेरिएको क्यालेन्डर पल्टाउन नपाउँदै वैशाख १२ विनासकारी भूकम्प लिएर आयो। पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म फैलिएको मध्यमाञ्चलकै ठूलो जिल्ला निमेषमै गल्र्याम्म ढल्यो। सर्वनाक क्षति व्यहोर्ने क्रममा ३ हजार ५ सय ७० जनाको ज्यान गयो। झण्डै–झण्डै घर संरचनाविहीन भूगोलमा बदलियो सिन्धुपाल्चोक। ६३ हजार भन्दाबढी घर पूर्णरुपमा ध्वस्त भए। १ हजार ५ सय भन्दाबढी घाइते भए।

७ दशमलव ८ म्याग्नेच्युड रेक्टर स्केलको त्यो भूकम्पमा मृत्युको मुखैबाट बाँचेर फर्किएको अनुभूति छ हरेक सिन्धुवासीसँग। अहो ! त्यो क्षण चलचित्रको भीमकाय दृश्य हेरेभन्दा कयौं गुणाबढी कहाली लाग्दो थियो। कुञ्चोक गाविसका महिलाले शव उठाएर झ्याडी खोलामा लस्करै शद्गद् गरेको दृश्य होस् या घुम्थाङका स्थानीयलाई एउटै खाडलमा पुरेको क्षण। सुनकोसी र इन्द्रावती बगरमा सल्किएको दागबत्तीको लप्का र सिन्धुका डाँडाकाँडा धुवाएका ती दिन सम्झँदा अहिले पनि आङ जिरिङ—जिरिङ हुन्छ। लगातारका धक्का, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको क्रन्दन, बुढाबुढीको हारगुहार कसरी सम्झनु त्यो क्षण?
3- sansthale dieko jasta liera ghar farkadai bhotsipaka pidit2
तर, जत्रै ठूलो विपत्तिमा पनि सम्हालिनुको विकल्प थिएन । सायद यही सत्य बुझेका थिए सिन्धुवासीले। त्यही धैर्य र साहसद्वारा समय गुजार्दा फेरि क्यालेण्डर बदलिन पुगेको छ। नयाँ पात्रो फेर्नुबाहेक भूकम्प पीडितको जीवन फेरिएको छैन। एउटै बस्ती सक्लो छैन । गाउँ–बस्ती अझै भूँइमै सुतिरहेका छन्। ती तत्काल उठ्ने संकेत छैन। ध्वस्त सदरमुकाम चौतारा ठडिन सकेको छैन। चट्टाने चेपुवा परेर खोसिएको उत्तरी सीमा नाका तातोपानीको चमक फर्कनै संकेत छैन। सुन्दर पर्यटकीय गाउँ हेलम्बु खण्डहर छ । पश्चिमी केन्द्र मेलम्चीको पीडा बोकेर इन्द्रावती अविरल बहिरहेको छ । पूरानो व्यापारिक केन्द्र बाह्रविसे तंग्रिसकेको छैन।

भूकम्पपछि सुरुका दिन पीडितले त्राससँगै ठूलो कष्ट व्यहोरे । धेरै दिन भोको पेट खुला आकाशमूनि रात बिताउन बाध्य भए पीडित। छाना, खाना र नानाको अभाव झेलिरहँदा वैशाख १३ र २९ को शक्तिशाली पराकम्प र लगातारका धक्काले नराम्ररी अत्यायो। याम फेरिँदै गएपनि पीडितका पीडितको जीवन वर्षैभर फेरिन सकेन । जस्ता, त्रिपाल र काठपातको अस्थायी टहरोमा बर्खाको भलबाढी छिथ्र्यो, पीडित सोहोर्दैमा हैरान हुन्थे । दुःख, कष्ट सहेर दशैं, तिहार, ल्होछार जस्ता चाडपर्व मनाइ नसक्दै ठिही सुरु भयो। स्यार्र छिर्ने स्याँठ र चुहिने शीतले पीडित टहरोबाट कक्रक्क कक्रिए। ठिहीले नसकेर झण्डै डेढ दर्जन दीर्घरोगी वृद्धवृद्धा, बालबालिकाको ज्यान लियो। मिनपचास सकिएर घामको ताप बढ्दै गर्दा हावाहुन्डरीको सिजन सुरु भयो, टहरो उडाउँदा पीडितलाई हैरानी मात्रै थप्यो।
liping bazar-dhruba - Copy
गाउँ–बस्ती अझै शोकमा छन्। सेता लुगा (बरखी) नलगाउने बस्ती छैन। शोकमग्नविहीन टोल छैन। प्रतिनगरपालिका÷गाविस औशत मृतक संख्या ५० जना छ । दुवाचौर (१५६), बाँसखर्क ( १४८), साँगाचोक (१४३), बरुवा (११७), थाङपालधाप (११३), कुञ्चोक (११३), इचोक (१११), बतासे (१०९), बाँडेगाउँ (१०५) मा सबैभन्दा बढीले ज्यान गुमाएका थिए। पीडित मृतक आफन्तको सम्झनामा बर्खान्त (वार्षिक पुण्यतिथि) को तयारीमा छन्। तामाङ, शेर्पा लगायत समुदाय घेवाका लागि तम्तयार छन् । नयाँ वर्षकै प्रारम्भमा बर्खान्त र घेवाबाट उत्रन लाग्ने खर्चको पिरलो थपिएको पीडितलाई।

घाइतेमध्ये झण्डै ५ सय अंगभंग भएको अनुमान छ। उनीहरु बैखाशीको साहरामा बाँच्न बाध्य छन्। आठ जना अझै बेपत्ता छन्। १ सय ८७ बालबालिकाले आमा, १ सय ३४ बालबालिकाले बाबु र ३२ बालबालिकाले आमा र बाबु दुबै गुमाए। ६ सय ५० विद्यार्थीको ज्यान गयो। धेरै एकल बनेका छन्। साहाराविहीन हुनेको संख्या पनि कम छैन । पीडित अझै गहिरो मानसिक आघातमा छन्।
sindhupalchok bhukampa story-dhruba pic-1
ध्वस्त, शिक्षा, स्वास्थ्य, स्थानीय निकाय, सुरक्षा अंग र सरकारी कार्यालयका भवन ठडिन सकेका छैनन्। स्कुल, स्वास्थ्य चौकी, गाविस कार्यालय, प्रहरी चौकी त्रिपाल, टेन्ट र जस्ताको अस्थायी टहरोबाट सञ्चालित छन् । पुनःनिर्माण सुरु हुन सकेको छैन। भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त जिल्ला सिन्धुपाल्चोक सरकारी उपेक्षामा परेको छ। अझै ५ हजार पीडितले अस्थायी आवास र न्यानो अनुदान पाउन सकेका छैनन्। सर्वनाक क्षति बेहोरेको जिल्लाबाट पुनःनिर्माण थालेर नवनिर्माणको सन्देश दिन सरकार चुकेको छ। संरचनाविहीन जिल्लामा पुनःनिर्माण प्राधिकरणको उपस्थिति हुन सकेन। प्राधिकरणले प्रभावित जिल्लामा क्षेत्रीय कार्यालय राख्दा सिन्धुपाल्चोक परेन। कम नोक्सानी व्यहोरेका जिल्लाबाट सरकारले आवास निर्माण अनुदान वितरण थाल्दा मुख्य प्रभावित जिल्ला सिन्धुपाल्चोक समेटिन सकेन।
dugunagadi killa 1
पीडितले यो बर्खा र हिउँदमा पनि उही नियती भोग्ने निश्चित छ। सिन्धुपाल्चोक वैशाख १२ पछि आवास निर्माण अनुदान पाउने जिल्लाको सूचिमा छ। बर्खामा पुनःनिर्माण सम्भव छैन, खेतीपातीमा जुट्ने कि घर बनाउन थाल्ने? चाडबाड र खेतीपाती भित्र्याउँने चटारोकाबीच अर्को हिँउदमा मात्र गति लिने पुनःनिर्माणले ठिही छल्ने नयाँ संरचना दिनेमा द्विविधा नै छ। सिन्धुवासी सरकारलाई प्रश्न गरिरहेका छन्, 'अर्को नयाँ क्यालेन्डर पक्की घरको भित्तामा झुण्डाउन पाइएला र?'



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.