-->
क्रिकेट खेलाडी संघमा नयाँ नेतृत्व, पवन अध्यक्ष र पारस महासचिव


काठमाडौं (हाम्रो खेलकुद)

राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुले क्रिकेट खेलाडी संघ नेपालको नेतृत्व लिएका छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालको अध्यक्ष निर्विरोध निर्वाचित भएको संघमा पूर्व कप्तान विनोद दास र महिला राष्ट्रिय खेलाडी सीता रानामगर उपाध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान कप्तान पारस खड्का महासचिव चयन भएका छन् ।


कीर्तिपुरमा शनिबार झन्डै ७० खेलाडी सहभागिता रहेको भेलाले सचिवमा अनिल मण्डल, कोषाध्यक्षमा पृथु बाँस्कोटा चुनिए । सदस्यमा राजु बस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, नीरा राजोपाध्याय र विनोद भण्डारी रहेका छन् ।

महासचिव पारसले मुख्यतः खेलाडीको हक हितका लागि संघ क्रियासिल हुने बताएका छन् । ‘गत बर्षनै हामीले संघ गठन गरेका थियौं । तर त्यति क्रियासिल बन्न सकेका थियौं,’ पारसले भने,‘ अब हामी संगठित रुपमा खेलाडीको समस्या समाधानका लागि नेतृत्व दिनेछौं । हरौ आउने दिनमा कति सफल हुन्छौं ।’ खेलाडीले एकल रुपमा समस्या राख्दा सुनुवाइ नहुने समस्या रहेको उल्लेख गर्दैै पारसले भने,‘ सबैले सामूहिक हित सोचेर काम गर्ने हो भने सफलता पाउन सकिन्छ । सामूहिक भावनाबाट चल्ने हो भने संघले गति लिन्छ भन्ने हाम्रो विश्वास हो । खेलाडीको समस्या सुन्न र बुझ्नका लागि पनि संघको आवश्यकता मनन गरेर नै हामीले यसलाई क्रियासिल बनाएका हौं ।’ पारसले संघले आउने दिनमा केही योजना सार्वजनिक गर्ने पनि सुनाए । उनले भने,‘ आज एउटा प्रक्रिया टुंगिएको छ । अब हामी खेलाडीका लागि केही योजना लिएर आउनेछौं । सम्बन्धित क्षेत्रबाट हामीलाई साथ सहयोग मिल्ने अपेक्षा पनि राखेका छौं ।

नव निर्वाचित पदाधिकारीलाइ पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मनिषराज पाण्डेले फुल माला लगाइ शुभकामना दिनु भएको थियो । क्रिकेट खेलाडी संघ २०७२ साल भदौ २८ गते स्थापना भएको हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.