कोपा अमेरिका : कोस्टारिका र पाराग्वे बराबरीमा रोकिए
जेठ २३ – कोपा अमेरिका फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा कोस्टारिका र पाराग्वे बराबरीमा रोकिएका छन् ।

अमेरिकाको फ्लोरिडामा आइतबार बिहान भएको खेलमा कोस्टा रिकाले पाराग्वेलाई गोलरहित बराबरीमा रोकेको हो । समूह एमा रहेको पाराग्वेले गोल गर्ने केही राम्रो अवसर सृजना गरेपनि गोल गर्न भने सकेन । पाराग्वेले ८ पटक पोस्ट प्रहार गरेकोमा एउटा मात्रै लक्षित दिशामा गएको थियो ।

कोस्टा रिकाले भने ६ पटक पोस्ट प्रहार गरेकोमा चार पटक लक्षित दिशामा गएको थियो तर गोल भने हुन सकेन । पाराग्वेका जर्ज बेनिटेजले खेलको सुरुवातमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।

कोस्टा रिकाका ब्रायन रुइजले पहिलो हाफमा गरेको हेडर गोल हुनबाट चुकेको थियो । अतिरिक्त समयमा केन्डल वास्टन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोस्टा रिका इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको थियो ।

समूह एमा शनिबार बिहान भएको खेलमा अमेरिकालाई २–० ले हराएको कोलम्बिया तीन अंकका साथ शीर्ष स्थानमा छ । एक एक अंक बाँडेका कोस्टा रिका र पाराग्वे दोस्रो र तेस्रो स्थानमा छन् । अंक नजोडेको अमेरिका पुछारमा छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...