-->
खुसि नै खुसीको खबर : नेपालमा लगानी ओइर्याउँदै चीन, हजार उद्योग खुल्ने ...

काठमाडौँ: मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दै आएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।
नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन्, त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग छन् ।

विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाबारे जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिए ।

यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उनले बताए ।
झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।

चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।
त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए ।यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।

अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।
नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।
त्यस्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिए ।दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।

नेपालमा तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । तीन करोड देखि १० करोड सम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ । रासस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.