उपत्यकाका इँटा भट्टामा चरम बालश्रम
काठमाडौं: काठमाडौं उपत्यकाका अधिकांश इँटा भट्टामा ठूलो संख्यामा बाल श्रमिकको प्रयोग भइरहेको पाइएको छ।
बाल विकास समाजले गरेको अध्ययनमा काठमाडौंका कुल १८ वटा इँटाभट्टामा रहेका नौ सय ३१ जना कामदारमध्ये सात सय ४० जना बालबालिका रहेका पाइएको छ।
यसैगरी भक्तपुरको कुल ६२ इँटाभट्टामध्ये एक हजार सात सय ६१ कामदारमध्ये बालबालिकाको संख्या एक हजार पाँच सय ५० थियो भने ललितपुर जिल्लाको कुल २८ वटा इँटाभट्टामा जम्मा आठ सय चार कामदार र कामदारभन्दा बढी संख्यामा जम्मा नौ सय ७४ जना बालबालिकाको संख्या रहेको पाइएको छ।
काठमाडौं उपत्यका भित्रका इँटा भट्टामा नेपालका ४५ जिल्लाबाट कामदारको आपूर्ति हुने गरेको छ। कामदारका रूपमा उच्च आपूर्ति हुने पाँच जिल्लामध्ये काभ्रे, रामेछाप, सिन्धुली, दाङ र रोल्पा क्रमशः २६.४२ प्रतिशत, १७.६५ प्रतिशत, ८.४४ प्रतिशत र ७.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
अध्ययनका क्रममा इँटाभट्टामा रहेका बालबालिकामध्ये सबैभन्दा बढी ३२.११ प्रतिशत बालबालिका पाँच वर्षभन्दा कम उमेर समूहका रहेको पाइयो। यसैगरी पाँचदेखि १० वर्षभित्रका २८ प्रतिशत, १० देखि १५ वर्ष उमेर समूहका २२.५८ प्रतिशत र १५देखि १८ वर्ष उमेर समूहका १७.३१ प्रतिशत छन्।
इँटा उद्योगमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि उचित दिवा शिशुस्याहार केन्द्रको व्यवस्था पनि गरिएको पाइएन। उनीहरू विभिन्न चोटपटक, दुर्घटना तथा अन्य स्वास्थ्य संक्रमणको जोखिममा छन्।
विद्यालय जाने उमेर समूह (५-१५) वर्षका बालबालिका विद्यालय छाड्न र परिवारको आम्दानी बढाउनका लागि भट्टामा काम गर्न तथा अभिभावलाई सहयोग गर्न बाध्य छन्।
१५-१८ वर्ष उमेर समूहका बालबालिका प्रत्यक्षरूपमा श्रममा संलग्न हुने हुनाले आफूले पाउने अवसरबाट उनीहरू वञ्चित रहेका पाइयो। असुरक्षित बसाइ, असुरक्षित चर्पी, खुलमखुल्ला मादक पदार्थको बिक्री वितरणलगायतका कार्यबाट किशोरीहरू पनि जोखिममा परेका अध्ययनले देखाएको छ।
काठमाडौंमा आइबार सार्वजनिक गरिएको अध्ययन प्रतिवदेनअनुसार इँटाभट्टामा रहेका बालबालिकामध्ये २७ प्रतिशत विद्यालय नजाने गरेको पाइयो। जिल्लागत रूपमा काभे्रमा (३०.८२) प्रतिशत, रामेछाप (१८.७४) प्रतिशत, सर्लाही (९.६५) प्रतिशत, मकवानपुर (३.८३) प्रतिशत, दाङ (३.४) प्रतिशत, सल्यान (३.३३) प्रतिशत र अन्य (१४.०)प्रतिशत बालबालिका अझै पनि विद्यालय गएका छैनन्।
उत्पादन तथा आपूर्तिको शृंखलामा बालबालिकाको आपूर्ति रोक्न रोजगारदाताको विशेष भूमिका तथा सहयोग हुनुपर्ने देखिन्छ। बालबालिकाको लागि उचित दिवा शिशुस्याहार केन्द्रको व्यवस्था, विद्यालय जाने बालबालिकाको लागि वैकल्पिक ब्रिजकोर्षको व्यवस्था गरिँदा उनीहरूको पढाइमा निरन्तरता आउने र विद्यालय बाहिर रहने सम्भावना न्यूनीकरण हुने सुझाव अध्ययनले दिएको छ।
ब्रिक क्लिन नेटवर्कका अध्यक्ष सुरेन्द्र ढकालले काठमाडौंका इँटा भट्टामा भएको बाल श्रमको भयावह अवस्थामा सुधार ल्याउन बाल श्रममुक्त इँटा भट्टा उद्घोष गर्ने र भट्टाबाट नै सरकारी निर्माणका लागि इँटा किन्ने व्यवस्था मिलाइएको बताए।
कार्यक्रममा श्रम विभागका महानिर्देशक केदारबहादुर बोगटीले बाल श्रम उन्मूलनका पक्षमा धेरै कानुन बने पनि यसको कार्यान्वयन पक्ष फितलो रहेको बताए। इन्फोकाठमाडौंका कुल १८ वटा इँटाभट्टामा रहेका नौ सय ३१ जना कामदारमध्ये सात सय ४० जना बालबालिका रहेका पाइएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...