-->
डिजाईन परिवर्तनले ६ लेन सडक निर्माणमा ढिलाई

इटहरी–विराटनगरको रानीदेखि धरानसम्मको ५० किलोमिटर सडक विस्तारमा जग्गा अपुग हुँदा डिजाईन परिवर्तन गरिएको छ। व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत सडक विभागले निर्माण थालेको सडक डिजाईन परिवर्तनसँगै ढिलाईसमेत भएको छ। 

सडक निर्माणका लागि प्रारम्भिक अध्ययन र सर्वे सकिएर डिजाईन गरी सडक निर्माण थाल्ने क्रममा जग्गा नपुग्दा परिवर्तन गर्नाले ढिलाई भएको हो । यो सडक निर्माण आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएर २०७५÷०७६ सम्म पूरा गर्ने लक्ष्य राखिएको थियो । लक्ष्य राखिएको अवधिसम्म विराटनगरदेखि इटहरीसम्म मात्र हुने निश्चित भएको छ।

शुरुवातमा अहिले भएको सडकलाई दायाँबायाँ २५–२५ मिटर फराकिलो पार्ने गरी डिजाइन तयार गरिएको थियो । तर, काम थाल्दा जग्गा अपुग भएकाले गर्दा सडकको १५÷१५ मिटर मात्र फराकिलो पार्ने गरी डिजाईन तयार गरी काम भइरहेको छ । अहिले विराटनगरको रानीदेखि १५ किलोमिटर सातवटा प्याकेजमा टेण्डर गरेर ठेकेदार कम्पनी छनोट भइसकेकोे छ । १५ किलोमिटर सडक दुई अर्ब ८० करोड रुपैयाँमा ठेक्का लागि सकेको छ ।

'तयारी राम्रो नहुँदा शुरुवातमा सडक निर्माणका लागि डिजाईन गर्दा ढिलाई भो,' सडक निर्माण योजनाका प्रमुख दिपककुमार भट्टराईले भने, 'पहिलो कुरा त डिजाईन परिवर्तनले र दोस्रोमा विद्युत, खानेपानी र दुरसञ्चार संस्थाले निर्माण गरेका भौतिक पूर्वधार परिवर्तन गर्दा पनि समस्या भएको हो ।' उनका अनुसार सडक निर्माणमा ठेकेदार कम्पनीले काँही–काँही सुस्त गतिमा काम गरेको केही असर गरेको छ।

सडक निर्माणमा अघिल्लो बैसाख १२ गते गएको महाभूकम्प र साउन अन्तिमदेखि ६ महिनासम्म मधेसवादी दलले आह्वान गरेको तराई–मधेस बन्दसँगै भारतीय अघोषित नाकाबन्दीले पनि असर गरेको भट्टराईले बताए । 'अहिले ठेक्का लागेर निर्माण भइरहेको सडकमध्ये केही किलोमिटर कालोपत्रे गर्ने योजना पनि जेठ महिनामा पानी परिरहेकाले गर्दा समस्या भइरहेको छ,' उनले भने, 'अब असारमा त झन कालोपत्रेको काम नै सम्भव छैन ।' सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रबाट निस्किने फोहोर पानीले पनि समस्या हुने गरेको जानकारी दिइयो ।

लक्ष्य अनुसार काम नहुने भएपछि आयोजनाले पहिलो चरणमा विराटनगरको रानीबाट इटहरीसम्म काम पुरा गर्ने अनि त्यसपछि इटहरीबाट धरानसम्म दोस्रो चरणमा काम गर्ने भएको छ। 'इटहरी–धरान क्षेत्रमा चारकोसे जंगल क्षेत्र परेकाले गर्दा रुखहरु कटान गर्न वन कार्यालयको स्वीकृत लिनुपर्ने र त्यसमा समय लम्बिने हुनाले गर्दा दोस्रो चरणमा काम गर्ने तयारी हुदैछ,' आयोजना प्रमुख भट्टराईले भने ।

विराटनगर–धरान ६ लेनको सडक निर्माण गर्नका लागि कुल १० अर्ब ९८ करोड बजेट रहेको छ। अब सुनसरी–मोरङको दुहवीमा रहेको बुढीखोला नदीबाट झन्डै १४ किलोमिटर इटहरीसम्म टेण्डर भएर ठेकेदार कम्पनीको छनोट हुन बाँकी छ।
६ लेनको सडक विस्तार गर्ने क्रममा आयोजनाले शुरुवातमा टेङ्ग्रा खोलालाई ध्यान नदिदाँ पनि समस्या भएकोमा पर्खाल लगाउने गरी डिजाइन तयार गरिएको छ। इटहरीदेखि सोनापुरसम्म दुई भाग गरेर टेङ्ग्रा खोला पर्ने चार किलोमिटर क्षेत्रमा सडकपट्टीबाट पर्खाल लगाइनेछ । शुरुवातमा डिजाईन तयार गर्दा टेङ्ग्रा खोलालाई ध्यान नदिईकन तयार गरिएको थियो ।

'छ महिना लगाएर टेङ्ग्रा खोलामा सडकपट्टीबाट पर्खाल लगाउने गरी डिजाईन परिवर्तन गरिएको छ,' भट्टराईले भने, 'टेङ्ग्रा खोलामा पर्खाल लगाउँदा सडक छेउ हरियाली बनाउने जग्गा भने हुदैंन् ।' टेङ्ग्रा खोलामा पर्खाल लगाउँदा पैदलयात्राका लागि अन्यत्रभन्दा फुटपाथ पनि साँघुरो हुनेछ ।

६ लेन सडकमा सडकको दायाँबायाँ तीन–तीन लेनको सडक हुनेछ । सडकको मध्यभागमा क्रकिटको संरचना हुनेछ । सडकसँगै पैदलयात्राका लागि फुटपाथ र ढलसमेत निर्माण हुनेछ । सडक छेउछाउ रुखविरुवा रोपेर हरियाली पनि पारिनेछ । तर, मुख्य–मुख्य बजार क्षेत्रमा जग्गा अभावले गर्दा हािरयाली नहुने र फुटपाथ पनि साँघुरो हुने भएको छ। सडक विस्तार भएसँगै दायाँबायाँ मापदण्ड मिचेका पूर्वधार हटाइनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.