-->
किन दस दिनसम्म मुस्ताङमा बस्दैछिन् अमेरिकी राजदूत

बेनीः अमेरिकी राजदूत एलाइना बी तेप्लिज मुस्ताङ भ्रमणमा आएकी छन् । निजी भ्रमण भन्दै सहयोगीका साथ आएकी राजदूत एलाइनाले करिब १० दिन मुस्ताङमा बिताउने छिन् ।

पैदलमार्ग हुँदै शुक्रबार राती मुस्ताङ पुगेकी राजदूत एलाइनाको टोली शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ तर्फ अघि बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

राजदूत एलाइनाको टोलीमा राजदूतावसका पाँच सहित ८ नेपाली सहयोगी गरि १३ छन् । राजदूतको भ्रमण नितान्त व्यक्तिगत भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।

‘उहाँले बिदाको समय बिताउन गर्न आएको भन्नुभएको छ, त्यसैले यसबारे खासै केही बोल्न मिल्दैन', प्रजिअ अधिकारीले भने, ‘लोमान्थाङमा केहि दिन बिताउने कार्यक्रम छ ।'

राजदूत एलाइना चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र कोरला नाकासम्म पुग्ने बताइए पनि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन् ।

जेठ १ गतेबाट उपल्लो मुस्ताङको ६ गाविसका सर्वसाधारण तथा व्यवसायी र तिब्बतका व्यापारीबीच २५ गतेसम्म सीमा क्षेत्रमा व्यापारिक मेला समेत हुने भएकाले राजदूतको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

मेलामा दुबै देशका व्यापारी तथा सर्वसाधारण खुलारुपमा सीमा वारपार गर्न पाउँछन् । माटोको शहर भनेर चिनिने लोमान्थाङमा चिनियाँ लगानी पनि बढी छ ।

त्यसै विषयमा राजदूत एलाइनाले जानकारी लिने बुझिएको छ । सुरक्षाका कारण सीमा क्षेत्रसम्म जाने संभावना कम छ । चीनले पछिल्लो केही बर्षयता सीमा क्षेत्रमा सुरक्षा व्यवस्था भने अत्यन्त कडा बनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.