-->
बांग्लादेशमा बरिष्ठ प्रहरीकी श्रीमतीको हत्या

Image copyrightEPA
Image captionकट्टरपन्थी अतिवादीबारे अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकारीकी श्रीमतीको हत्या गरिएको छ

बांग्लादेशमा कट्टरपन्थी इश्लामवादीहरुले गरेका हत्या श्रृङ्खलाहरुको अनुसन्धानको नेतृत्व गरिरहेका एकजना बरिष्ठ प्रहरी अधिकारीकी श्रीमतीको हत्या गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

चित्तगङमा उनको ६ वर्षीय छोराको अगाडि महमुदा अख्तरको टाउकोमा गोली हानिएको थियो।

उनका श्रीमान प्रहरी उपरिक्षक बबुल अख्तरले प्रतिबन्धित इश्लामवादी जमायेतुल मुजाहिद्दिन बांग्लादेश (जेएमबी) समुहबारे अनुसन्धान गरिरहेका छन्।

श्रीमती अख्तरलाई उनका श्रीमानको कामका कारण हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ।

कट्टरपन्थी इश्लामवादीहरु

प्रहरी प्रवक्ता इकबाल बहारले भने-"उनी आफ्ना छोरालाई स्कूल बस चढाउन अपार्टमेन्ट बाहिर आएका बेला अचानक तीनजना मान्छे मोटरबाइकमा उनको नजिकै आए। पहिले छुरी हाने र पछि गोली। उनको तत्काल मृत्यु भयो। बबुल अख्तर लडाकुहरु विरुद्धको कारवाहीमा रहेकाले यो हत्या लडाकुहरुले गरेका हुन् कि भन्ने हामी अनुसन्धान गर्छौं।"

गत वर्ष यता मात्रै विश्वविद्यालयका प्राध्यापकहरु, धर्म निरपेक्षतावादी ब्लगरहरु, समलिङ्गी अधिकारकर्मीहरु, विदेशीहरु तथा शिया, सुफी, अहमदी मुश्लिम सहित इसाई र हिन्दु धर्मावलम्बी धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमण भएको छ।

यी मध्ये केही आक्रमणहरुका लागि जेएमबीमाथि दोष लगाइएको छ; जसले देशका अरु लडाकु समुहहरुले जस्तै आफ्ना कट्टरपन्थी इश्लामवादी सिद्धान्त नअपनाउनेलाई मन पराउँदैन।

बीडी न्यूज २४ का अनुसार चित्तगङस्थित गुप्तचर शाखाका अतिरिक्त उप आयुक्त रहेका प्रहरी उपरिक्षक अख्तरले लडाकुका गोप्य अखडाहरुमा छापा मार्ने र अनेकौं आतंकवाद सम्बन्धी मुद्दाहरुको अनुसन्धानको नेतृत्व गरेका छन्।

जेएमबी प्रमुख मोहम्मद जावेदलाई गत अक्टोबरमा गिरफ्तार गर्ने प्रहरी कारवाहीका बेला अख्तर अग्रपंक्तिमा थिए।

गिरफ्तारी पछि जेएमबी गोप्य अखडामा प्रहरीलाई लैजाँदै गर्दा भएको ग्रिनेड विष्फोटमा जावेद मारिएका थिए।

'थप सुरक्षा'

गृहमन्त्री असदुजामान खान कमलले शनिबारको आक्रमणपछि सरकारले प्रहरी अधिकारीका परिवारलाई सुरक्षा सुविधा दिनेबारे विचार गरिरहेको बताएका छन्।

Image copyrightAP
Image captionकट्टरपन्थी इश्लामवादीहरुले गरेको हत्याको विरोधमा बांग्लादेशमा प्रदर्शन हुँदै आएको छ

उनी भन्छन्, 'लडाकुहरुले प्रहरी अधिकारीका परिवार जस्ता सजिला निशानाहरुमाथि आक्रमण गर्ने रणनीति बनाएका छन्।'

अर्को छुट्टै घटनाक्रममा देशको उत्तर पश्चिममा एकजना इसाई धर्माबलम्बी किराना पसलेको हत्या गरिएको छ। तर हत्याको कारण प्रष्ट भइसकेको छैन।

इश्लामिक स्टेट (आइएस) भनिने समुहले आक्रमण आफुले गरेको भनेको छ।

तर सरकारले बांग्लादेशमा आइएसको उपस्थिति नरहेको बारम्बार दोहोर्याउँदै आएको छ।

गएका तीन वर्षमा कट्टरपन्थीहरुले गरेका बीस भन्दा बढि हत्याको आरोप सरकारले विपक्षी पार्टी र स्थानीय लडाकु समुहका संदिग्ध इश्लामवादीमाथि लगाउँदै आएको छ।

मुश्लिम बहुल बांग्लादेश औपचारिक रुपमा धर्मनिरपेक्ष देश हो तर आलोचकहरु भन्छन् पछिल्ला आक्रमणहरुको सही संबोधन गर्न सरकार विफल भएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.