भारतीयद्धारा नेपाली भूमि अतिक्रमणको प्रयास कञ्चनपुर,
भारतीय पक्षले कञ्चनपुरको पुनरवासमा नेपाली भूमि अतिक्रमण गरि नाली खनेको छ। दुई देशीय सीमा स्तम्भ भन्दा करिब एक सय मिटर नेपाली भूमितिर भारतले नाली खनेको हो।
पुनरवास नगरपालिका–६ र ७ मा रहेको हिमचुली सामुदायिक वन क्षेत्र अतिक्रण गरि भारतीय पक्षले नाली खनेको हो। भारतीय पक्षले हालै सामुदायिक वन क्षेत्रभित्र करिब २ किलोमिटर लामो नाली खनेका हुन्। पिलर नम्बर १८८ र १९९ को बीचमा करिब दुई किलोमिटर लामो र करिब २/३ फिट गहिरो नाली खनेर भारतीयले सीमास्तम्भ राख्न खोजेका पुनरवासका स्थानीयबासिन्दा एवं राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले बताए।
नाली खनेको ठाउँमा राख्नका लागि ल्याइएका केही पिलरहरु फेला परेको स्थानीयबासीले बताएका छन्। पुनरवासका स्थानीयबासीका अनुसार गाईवस्तु चराउन जानेहरुले नेपाली भूमि सामुदायिक वन क्षेत्रमा नाली खनेको देखेपछि गाउँमा खबर गरेका थिए। यसअघि पनि पटकपटक सीमा अतिक्रमणको प्रयास गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीले नाली खनेको पुनरबासका स्थानीयले बताएका छन्।
आईतबार गाउँलेहरु मिलेर भारतीयले खनेको नाली पुरेका छन्। भारतीय पक्षले खनेको नाली पुर्नमा स्थानीयबासीलाई पुनरवासस्थित शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सहयोग गरेको थियो। स्थानीयबासी हरि अधिकारीका अनुसार अहिले नाली खनेको क्षेत्रमा केही दिनअघि भारतले आफ्नो क्षेत्र भएको दावी गर्दै वृक्षारोपण गरेको थियो।
परासनको बीसकठ्ठादेखि लक्ष्मीपुर गाविसको उभियाफाँटासम्म विभिन्न क्षेत्रमा भारतले नाली, खन्ने, सीमास्तम्भ राख्ने, वृक्षारोपण गर्नेजस्ता कार्य गरेर सीमा अतिक्रमण गर्न खोजेको स्थानियवासीले बताएका छन्।
सीमा क्षेत्रमा केही दिनयता भईरहेको हात्ति आतंकका कारण नेपालीहरु जंगलतिर जान नपाएका बेला भारतीयहरुले रातारात नाली खनेका हुन्।
स्थानीयबासीले सीमा क्षेत्रमा शसस्त्र प्रहरीको क्याम्प राखेर नेपाली भूमिको रक्षा गर्नुपर्ने माग गर्दै आएका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...