काठमाडौं, जेठ ३१ – चीनको भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभएको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले आइतबार त्यो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गर्नु भएको हो । चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आइतबार कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ ।
उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४ औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभयो । मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उहाँले उद्घाटन वक्तव्य दिनुभएको थियो ।
उहाँले त्यस अवसरमा चीन र दक्षिण एसियाबिच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताउनुभयो । बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आइतबार प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । आइतबार नै उपराष्ट्रपति पुनले ११ औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१ औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिनुभयो ।
उहाँले सहभागी प्रतिनिधिमण्डलहरु र व्यवसायीलाई नेपाल आएर विभिन्न प्राकृतिक स्रोतहरुमा ठूलो स्तरमा लगानी गर्न आह्वान पनि गर्नुभयो । समारोहपछि उपराष्ट्रपति पुनले कुन्मिङ टेलिभिजनलाई अन्तरवार्ता दिनुभयो । उहाँले नेपाल चीन सम्बन्धबारे बोल्नुहुँदै चिनियाँ व्यवसायीलाई नेपाल आएर लगानीका अवसर खोज्न आमन्त्रण गर्नुभयो ।
यस्तै चीनका उपप्रधानमन्त्री वाङ याङले उपराष्ट्रपतिसँग भेट गरी विचारको आदानप्रदान गर्नुभयो । उहाँहरुले नेपाल– चीनबीच हालका वर्षहरुमा राजनीतिक, आर्थिक र सामाजिकलगायतका क्षेत्रमा सम्पर्क बढ्दै गएको उल्लेख गर्नुभयो । त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनता चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
उहाँले चिनियाँ आर्थिक सहायता, सहयोगका नयाँ क्षेत्र तथा हालै नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुभएपछि सुरु भएका सहयोगका आयोजना समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले नेपाललाई आपसी सम्मान र समानताका आधारमा सहयोग जारी राख्ने बताउनुभयो ।
उहाँले चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका लागि आमन्त्रण गरेकोमा उनीहरुलाई प्रोत्साहन र सहयोग गर्ने बताउँदै नेपालमा राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अझ धेरै व्यापारिक अन्तक्र्रिया तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान हुनुपर्ने पनि बताउनुभयो । रासस
0 comments
प्रतिक्रिया दिनुहोस्...