-->
पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीमा नरहने


काठमाडौं, १३ साउन
युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ । भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४०औँ अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ । ‘एक वर्षभित्र नेपालले सम्पदा पुनर्निर्माणमा चित्तबुझ्दो कार्य प्रगति गर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदा सूचीबाट खतराको सूचीमा पर्नेछन्,’ मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘भर्खरै भूकम्पको त्रास बिर्सदै अगाडि बढ्दै गरेको नेपाललाई सहानुभूतिस्वरूप एक वर्षको अवसर दिइएको हो ।’

यसअघि भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण सुस्त रहेको, नेपालले कतिपय सम्पदा हुबहु पुनर्निर्माण गर्न नसक्ने, स्रोतको जोहो हुन नसकेकोलगायत कारण देखाउ“दै काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव महाधिवेशनमा प्रस्तुत भएको थियो । प्रस्तावको छलफलका क्रममा युनेस्कोको २१ सदस्यीय ब्युरो कमिटीमध्ये १८ सदस्य नेपालको पक्षमा उभिएपछि तत्काल खतराको सूचीमा पर्नबाट जोगिएको सचिव राईले जानकारी दिए । बुधबार युनेस्को अधिवेशन सम्बन्धमा व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई जानकारी गराउ“दै सचिव राईले चालू आर्थिक वर्ष सम्पदा पुनर्निर्माणमा अधिकतम लगानी गर्नुपर्ने बताएका हुन् ।

नयाँ सूचीकृतमा नेपाल कमजोर
नेपालले नयाँ गन्तव्य, सम्पदा तथा सांस्कृतिक धरोहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भने असफल रहँदै आएको छ । ‘हामीले विगतदेखि नै सीमित गन्तव्यलाई पर्यटकीय महत्वका सम्पदाका रूपमा प्रवद्र्धन गरिरहेका छौँ,’ पर्यटन मन्त्रालयका सचिव राईले भने, ‘सोही कारण नयाँ सम्पदा सूचीमा लैजान सकिएको छैन ।’ भारतले कञ्चनजंघा संरक्षण क्षेत्रका नाममा हालै एक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराएको र युनेस्कोको ब्युरो कमिटिमा नेपालको प्रतिनिधित्व नहुँदा त्यसको खण्डन गर्न नसकिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

के छ सम्पदा पुनर्निर्माणको प्रगति
पुरातत्व विभागका अनुसार ०७२ वैशाखको भूकम्पबाट देशभर करिब ७ सय ५० सम्पदा क्षतिग्रस्त भएका थिए । त्यसमध्ये अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा पर्यटन मन्त्रालयले १ सय ४ सम्पदाको पुनर्निर्माणका लागि बजेट मागेको थियो । त्यसमध्ये ३९ वटा सम्पदाका लागि मात्र बजेट परेको थियो । चालू आर्थिक वर्षमा सम्पदा पुनर्निर्माणमा तीव्रता दिइनुपर्ने विभागको भनाइ छ । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार अहिलेसम्म ४८ वटा सम्पदा पुनर्निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ । चालू आवमा थप १ सय सम्पदाको पुनर्निर्माण प्रारम्भ गर्ने तयारी भइरहेको छ ।

भूकम्पपछि पूनर्निर्माणमा भइरहेको ढिलाइका कारण युनेस्कोले काठमाडौं उत्पत्यकाभित्रका सम्पदालाई खतराको सूचीमा राख्न खोजेको थियो । नेपालले आगामी दिनमा कार्यप्रगति बढाउने प्रतिबद्धता जनाएपछि आगामी एक वर्षका लागि छुट दिइएको छ । अबको एक वर्ष हामीले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्छ ।
प्रेमकुमार राई, सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सगरमाथा, लुम्बिनी र चितवन सुरक्षित
सचिव राईका अनुसार विश्व सम्पदा सूचीमा रहेका सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुन्ज भने उक्त सूचीमा सुरक्षित छन् । सगरमाथाको फोहोरका सम्बन्धमा अधिवेशनले चासो दिएको भए पनि तत्काल खतराको सूचीमा नपर्ने राइले जानकारी दिए । पशुपतिनाथ क्षेत्रको बीचबाट खोलिएको तिलगंगा–ताम्रगंगा सडक तत्काल बन्द नगरे पशुपतिनाथ मन्दिरलाई पनि विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको छ । ०६३ मै ट्र्याक खोलिएको उक्त बाटो बन्द गर्नुपर्ने माग उठे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदा
हनुमानढोका दरबार स्क्वायर, पशुपतिनाथ, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ, पाटन दरबार स्क्वायर,  बौद्धनाथ, चाँगुनारायण, चितवन राष्ट्रिय निकुन्ज, लुम्बिनी क्षेत्र र सगरमाथा राष्ट्रिय निकुन्ज रहेका छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.