काठमाडौँः पछिल्ला दुई दिनमा बाढीले देशभरको जनजीवन अस्तव्यस्त भएको छ । बाढी र पहिरोले दुई दिनमा देशभर ७२ जनाको मृत्यु भएको र दर्जनौ बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । बाढी र पहिरोले मुलुकभरको जनजीवन प्रभावित हुँदा नेपाली सेनाले उद्धारको क्रमलाई युद्धस्तरमा अगाडि बढाएको छ ।
सेनाले उद्धारका लागि तीन हेलिकोप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाका प्रवक्ता प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
कार्कीका अनुसार सेनाले तयारी गरेका तीन हेलिकोप्टर मध्ये एउटा पूर्वक्षेत्रको उद्धारका लागि इटहरीमा राखिएको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका लागि सुर्खेतमा र मध्येक्षेत्रको उद्धारका लागि अर्को हेलिकोप्टर काठमाडौँमा तयारी अवस्थामा छ ।
गृहमन्त्रालयकोसमेत जिम्मेवारी लिएका रक्षामन्त्री भीम रावलले बाढी तथा पहिरोमा परेका वृद्धावृद्धा, बालबालिका र सुत्केरीलाई प्राथमिकता दिन निर्देशन समेत दिएका छन् ।
कुन जिल्लामा कतिको मृत्यु
गृहमन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी प्युठानमा ३८ जनाको मृत्यु भएको छ । गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पामा ४, रोल्पामा ४, मकवानपुरमा ३, अर्घाखाँची र रुपन्देहीमा २–२, झापा, पर्वत, दाङ, उदयपुर, बारा, काठमाडौँ, दोलखामा १–१ जनाको मृत्यु भएको छ । कोसी, बबई, गण्डक नहरमा पानीको बहाव बढ्ने क्रम रोकिए पनि खतरा अझै नटरेको गृहमन्त्रालयले बताएको छ । उद्धार र राहतका लागि नेपाली सेना सँगै, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...