रियो ओलम्पिकको उद्घाटन आज, पहिलो दिन नेपालले आर्चरीमा खेल्ने
काठमाडौं, साउन २१ – विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलमा हुँदैछ । नेपाली समय अनुसार भने शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्रतियोगिता ब्राजिलको रियी दि जेनेरियोमा हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालबाट आर्चरीका जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् । आर्चरी खेल बेलुकी पौने ६ बजेदेखि हुनेछ । रियो ओलम्पिकमा पौडी प्रतियोगिता अन्तर्गत आइतबार एक सय मिटर ब्याकस्ट्रोकमा महिलातर्फ नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी खेलाडी हुन् । यस्तै प्रतियोगितामा नेपालकातर्फबाट तेक्वान्दोमा निशा रावल, पौडी प्रतियोगिताको पुरुषतर्फ शिरीष गुरुङ, एथलेट्किसका हरिकुमार रिमाल र सरस्वती भट्टराईले खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दुई सय सात राष्ट्रका १० हजार ५ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय झण्डा १२ औँ एशियाली खेलकुदमा स्वर्णपदक विजेता फुपूल्हामु खत्रीले बोक्नेछिन् । प्रतियोगितामा नेपालका उनी सहित सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागेका छन् । रियो ओलम्पिकको शुक्रबार राति उद्घाटन हुने भए पनि फुटबलका खेल भने सुरु भइसकेको छ । पुरुष फुटबल बिहीबारदेखि सुरु भएको हो भने महिला फुटबल ओलम्पिक उद्घाटन हुनु २ दिन अघि नै सुरु भएको हो । रियो प्रतियोगिताको सुरक्षाका लागि ८५ हजार जना सुरक्षाकर्मी खटिएका छन् । प्रतियोगिता हेर्न बाहिरी देशका ५ लाख मानिस प्रतियोगिता स्थल पुग्ने अनुमान गरिएको छ । ओलम्पिकका लागि ७ करोड ५० लाख टिकटको व्यवस्था गरिएको छ ।
यस्तै संयुक्त राष्ट्र संघका महासचिव वान की मुन पनि उद्घाटन समारोहमा सहभागि हुनु हुनेछ । उहाँले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने शरणार्थी खेलाडीसँग पनि भेट्ने कार्यक्रम छ । रियो ओलम्पिकमा १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।उज्यालो अनलाइनबाट साभार।
0 comments
प्रतिक्रिया दिनुहोस्...