बुटवलमा एक महिलाको हत्या, बक्स पलङ्गभित्र शव भेटियो
रुपन्देही, साउन २८ – रुपन्देहीको बुटवलमा एक महिलाको हत्या भएको छ । स्याङजा कारीकोट घरभई बुटवल–१३ कालिकानगरको परोपकारपथमा डेरागरी बस्ने अन्दाजी ४० वर्षकी कमला न्यौपानेको हत्या भएको प्रहरीले जनाएको छ ।
घाँटीमा मल्टिप्लगले कसेको अवस्थामा बक्स पलङ्गभित्र कमलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार कमलाको टाउकोमा समेत चोट छ । बिहीबार बेलुका ७ बजे घरभित्र छिरेकी कमलाको दुई घण्टाको बिचमा हत्या भएको प्रहरीले अनुमान गरेको छ ।
बेलुका ९ बजेसम्म कमलाले चलाउने स्कुटर बाहिरै रहेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बुटवलको जेसिज चोकमा जुत्ताको होलसेल व्यापारी कमलाका श्रीमान नित्यानन्द न्यौपाने बिहीबार बिहान काठमाडाैं गएका बताइएको छ ।
नित्यानन्दकी कान्छी श्रीमती कमलाको एक छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत छन् । ढुकुटी कारोबार गर्ने कमलाले दिउँसो बैंकबाट १० लाख भन्दा धेरै पैसा निकालेको बताएपनि त्यसको पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
कमलाको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।स्रोत: उज्यालो अनलाइन
0 comments
प्रतिक्रिया दिनुहोस्...