सहरी विकास मन्त्रालय र सिंहदरबार पुनर्निर्माण सचिवालयले भत्काएर पुनर्निर्माण गर्नुपर्ने भनिरहेका भवनलाई पुरातत्व विभागले हदैसम्मको विकल्प प्रयोग गरेर अहिलेकैलाई जोगाउन अर्थात् पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न दवाब दिएको छ । विभागको मान्यता अनुसार सबै स्थानमा पुनर्निर्माण गर्न सम्भव नहुने सहरी विकास मन्त्रालयका प्राविधिकहरु बताउँछन् ।
सिंहदरवार सचिवालय पुन: निर्माण समितिले सिंहदरवारको मुख्य भवन (स्टेट हल रहेको पश्चिमको ठूलो दरवार) लाई भत्काएर पुननिर्माण गर्नुपर्ने सिफारिस गरेपनि पुरातत्वले स्विकृति दिएको छैन ।
समितिका निमित्त कार्यालय प्रमुख रामप्रसाद बेल्वासे उक्त दरवार भत्काएरै पुनर्निर्माण गर्नुपर्ने प्राविधिक अध्ययनबाट देखिएको बताए । तर, पुरातत्वले नमानेपछि शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाईले उक्त दरवार बारे पुन: अध्ययन थालेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको उक्त भवन १ सय ४ वर्ष पुरानो हो । वि.स २०३० सालमा आगलागी हुँदा उक्त भवनको अग्रभाग जोगाइएको थियो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मा राणाकालीन कैयौं दरवार भत्काएरै बनाउनुपर्ने अवस्थामा रहेको बताए । ‘दुई पटकको अध्ययनबाट सिंहदरवारको पश्चिमी लन्ज भत्काउनुपर्ने सिफारिस नै आएको छ,’ उनले भने ‘तर, पुरातत्वले नमानेपछि फेरि थप र विस्तृत अध्ययनका लागि परामर्शदाता नियुक्तिको अन्तिम चरणमा छौं ।’ त्यही भवनको पछाडिपट्टि भागको रेक्ट्रोफिटिङ गर्न सकिने प्राविधिक सुझाव छ । उक्त भवन आगलागीपछि २०३८ सालमा निर्माण भएको हो । त्यहाँ प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोग थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...