केपी ओलीले बनाए एमालेका चार उपाध्यक्षसहित धेरैलाई बेरोजगार
काठमाण्डु, २९ साउन– एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् ।
अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिँदा उनीहरू ‘बेरोजगार’ बनेका हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन ।
उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।
केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाँ जिम्मेवारी दिने बताए ।
‘केही नेता सरकारको कामको सिलसिलामा हुनुभएकाले तत्कालै काम नपाउनुभाको हो, तर स्थायी समितिले उहाँहरूबारे छिट्टै निर्णय गर्नेछ,’ गुरुङले भने ।
१३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले एक सय ८५ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै कामको जिम्मेवारी बाँडफाँड गरेको थियो । तर, पनि अझै एक दर्जनभन्दा बढी नेता ‘बेरोजगार’ देखिएका हुन् ।
नयाँ पत्रिकाबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...