-->
पुनरागमनमा विश्वस्त अस्ट्रेलिया

बेङलोर- छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डसँग पहिलो खेलमा पराजय भोगेको अस्ट्रेलियालाई भारतमा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवित राख्नका लागि सोमबार बंगलादेशविरुद्ध हुने खेलमा जितको विकल्प हुने छैन। 

अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर मानिएको बंगलादेशविरुद्धको खेल महारथी अस्ट्रेलियाका लागि प्रतियोगितामा पहिलो अंक जोड्नमात्र नभई पुनरागमनका लागि पनि राम्रो मौका हुन सक्छ। शुक्रबार न्युजिल्यान्डसँग भोगेको सनसनीपूर्ण पराजयले स्टिभ स्मिथको टोलीको ट्वान्टी–२०मा उपाधि जित्ने लक्ष्य नराम्ररी प्रभावित गरेको थियो।

समुह दुईमा अस्ट्रेलियाले पाकिस्तान र उपाधिको मुख्य दावेदार तथा विश्व नम्बर एक टोली भारतसँग खेल्ुनपर्नेछ। सेमिफाइनलको महत्वाकांक्षा पूरा गर्न अस्ट्रेलियाले दुवै खेल जित्नु पर्न सक्छ।

न्युजिल्यान्डले कसिलो बलिङ प्रदर्शन गर्दै अस्ट्रेलियामाथि जित निकालेको थियो। तर अस्ट्रेलियाली कप्तान स्मिथ त्यो हारलाई विर्सेर प्रतियोगितामा पुनरागमन जनाउन आफूहरु सक्षम रहेको बताएका छन्। बंगलादेशलाई हराउँदै प्रतियोगितामा फर्किनेमा विश्वस्त रहेका स्मिथले न्युजिल्यान्डसँगको नतिजा खराव सपना भएको बताए।

'हामी बंगलादेशलाई हराएर प्रतियोगितामा पुनरागमन जनाउनेमा पूरा विश्वस्त छौं,' स्मिथले भने, 'हामी यहाँ उपाधि जित्ने ठूलो लक्ष्य लिएर आएका छौं र त्यसका लागि सक्षम पनि छौं।'

विश्व टेस्ट वरियताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले गतवर्ष सम्पन्न ५० ओभरको विश्वकप पनि जितेको थियो। तर ट्वान्टी–२० मा भने सधै संघर्षरत रहेको टोली अहिलेसम्म यो स्वरुपको विश्वकपमा एक पटकमात्र फाइनल पुगेको छ। २०१० मा एकपटक फाइनल पुग्दा पनि इङल्यान्डलाई उपाधि सुम्पदै अस्ट्रेलियाले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बंगलादेशका अराफत सन्नी र तास्किन अहमदलाई अवैध बलिङ एक्सनका कारण निलन्वन गर्ने निर्णय गरेको छ। आइसिसीले शनिबार यस्तो निर्णय गरेपछि प्रतियोगितामा अस्ट्रेलियाको सम्भावना बढेको छ। न्युजिल्यान्डविरुद्धको पहिलो चरणको खेलमा अफ स्पिनर सन्नी र तिब्र गतिका बलर अहमदको एक्सन अवैध भएको भन्दै अम्पायरहरुले दिएको प्रतिवेदनका आधारमा आइसिसीले उनीहरुलाई निलम्बन गरेको हो।

अस्ट्रेलिया जस्तै बंगलादेशलाई पनि सेमिफाइनल पुग्ने आशा जीवित राख्नका लागि सोमबारको खेल जित्नै पर्ने दबाब छ।

बंगलादेश सुपर १० को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। पाकिस्तानविरुद्धको खेलमा बंगलादेशका लागि अलराउन्डर शकिब अल हसन र स्टार ब्याट्सम्यान तमिन इकबालको प्रदर्शन भने प्रशंसायोग्य थियो। सकिबले अविजित ५० तथा इकबालले अविजित २४ रन बनाएका थिए।

एकदिवसीय क्रिकेटमा पछिल्लो समय बंगलादेशले आफ्नो प्रदर्शनमा व्यापक सुधार गरेको छ। तर ट्वान्टी–२० क्रिकेटको विश्व वरियताको १० औं स्थानमा रहेको टोलीसामु सोमबारको खेलमा धेरै चुनौती हुनेछन्। अस्ट्रेलियाविरुद्ध बंगलादेशको विगत सम्झन लायक छैन। ट्वान्टी–२० विश्वकपमा अहिलेसम्म दुई टिमको तीन पटक भेट हुँदा बंगलादेशले अस्ट्रेलियामाथि विजय हासिल गर्न सकेको छैन। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.