-->
बाघको दाह्रासहित समातिएका मलेसियन डीआईजीले भगाए

काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा बाघको दाह्रासहित नियन्त्रणमा आएका एक मलेसिन नागरिक प्रहरी नेतृत्वको आदेशमा उम्किएको रहस्य खुलेको छ ।
विमानस्थल सुरक्षा प्रमुख डिआईजी गोविन्द निरौलाको आदेशमा ति मलेसियन नागरिक सजिलै उम्किएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
गएको बुधबार फागुन २६ गते मालिन्दो एयरबाट मलेसिया जान हिंडेका ति मलेसियनको शरीर खानतलासी गर्दा सुरक्षाकर्मीले बाघको दाह्रा फेला पारेका थिए ।
तत्कालै विमानस्थलका सुवेदार मेजर प्रहरी नायब निरिक्षक सञ्जय यादवले डिआईजी निरौलालाई फोन गरेर उक्त व्यहोरा जानकारी गराएका थिए ।
डिआईजीले ‘दाह्रा मलाई बुझाउ, मलेसियनलाई छाडिदेउ’ भनेर निर्देशन दिएपछि यादवले अन्य सुरक्षाकर्मीलाई मलेसियनलाई छाडिदिन भनेको स्रोत बताउँछ ।
बाघलाई विश्वकै लोपउन्मुख जनावरको सूचीमा सूचीकृत गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र साइटिस महासन्धी १९७५ अनुसार बाघको चोरी शिकारी, छाला र अन्य शारीरिक वस्तु ओसारपसार एवं विक्रि वितरण गर्न पाइँदैन ।
विमानस्थलको सुरक्षा प्रमुखबाटै ऐन र महासन्धीको उल्लंघन भएको यो घटनालाई गोप्य राखिएको छ । प्रहरीले ति मलेसियन नागरिकको नाम समेत गोप्य राखेको छ ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा मलेसियन नागरिककले कहाँबाट बाघको दाह्रा ल्याए भन्ने सुचना राख्नुपर्ने प्रहरीले उल्टै छाडिदिएपछि विमानस्थलको सुरक्षा संवेदनशीलतामा प्रश्नचिन्ह उठेको छ । डिआईजी निरौलाले बाघको दाह्रा सहित नियन्त्रणमा आएका मलेसियनलाई छाडेको स्वीकारे ।
उनले भने,‘ बाघको दाह्रा फेलापरेको साँचो हो, मलेसियन पनि अलि हतारमा देखिन्थे त्यही भएर छाडिदिएँ, फेरी फर्किएर आउला नि ।’
डिआईजी निरौलालाई नै पहिलो पटक रिर्पोट गरेका सुवेदार मेजर यादवले भने यसबारे आफूलाई केही थाहानभएको प्रतिक्रिया दिए । तर, स्रोत भन्छ,‘ उनै सईले डिआईजी निरौलालाई रिर्पोट गरेपछि दाह्रा लिएर मलेसियनलाई छाडेका थिए ।’
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्र खरेलले बाघको दाह्रासहित नियन्त्रणमा आएका मलेसियनमात्रै नभएर जो कोही भएपनि प्रहरीले छाड्नु गैरकानुनी कार्य भएको बताए ।
उनले भने, ‘पहिला त त्यो बाघको दाह्रा हो कि होइन जाँचका लागि विधिविज्ञान प्रयोगशालामा पठाईनुपर्थ्यो, संकास्पद वस्तु फेलापरेपछि पुष्टी नहुन्जेलका लागि सम्बन्धीत व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गर्नुपर्थ्यो, प्रहरीले उल्टै संरक्षण गरेजस्तो देखियो, त्यो गैरकानुनुी हो ।
विमानस्थलमा खटिएका एक प्रहरी अधिकृतले भने,‘ अहिले विमानस्थलमा डिआईजीकै आदेशमा जुनियर प्रहरी अधिकृतलाई मोबाईल बोक्न समेत रोक लगाईएको छ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.