-->
प्रेमगीतकी हिरोइन भन्छिन्ः ‘केटा पिट्नु मेरो प्यासन’

काठमाडौंः कुनै केटालाई तँ भन्नु उनको जन्मसिद्ध स्वभाव हो । काठमाडौंको ‘टुकुचे रेष्टुरेन्ट’मा भेट्टा पूजा शर्मा सिम्पल थिइन् । अनि क्यामेरा र डायरी ठिक पार्दा नपार्दै पूजाले भनिन् ‘दाइ छिटो सकौँ है, तपार्इंहरुलाई पनि हतार होला, मसँग पनि धेरै समय छैन ।’
 
‘मलाईचाहिँ किन तपाईँ नि ?’ उनी हाँसिन्मात्रै जवाफ फर्काइनन् । कुराकानी सुरु भयो । एउटा टिभीमा ‘मनोरञ्जन कार्यक्रम’की रिपोर्टर एकाएक ‘हिरोइन’ बनेर अहिले चर्चामा छिन्, पूजा शर्मा । 

उनको पछिल्लो चलचित्र ‘प्रेमगीत’ ले उनको चर्चा अझै चुलिएको छ । त्यसमा पनि पुराना कलाकार सरोज खनालसँगको अभिनयमा निकै जमेकी पूजा यतिबेला युवाहरुका माझमा ‘अमर प्रेमी’का रुपमा ‘क्रेजी’ छिन् । 

ललितपुर जावलाखेलमा जन्मिएकी उनका बाबु डाक्टर हुन् । तर, उनलाई कहिल्यै डाक्टर बनूँजस्तो लागेन । उनी ‘एक्टर’ बन्न चाहन्थिन् । हाइस्कूल सकेर उनले कला पढिन् । पढ्दापढ्दै हिमालयन टिभीमा मनोरञ्जन बिटमा काम गरिन् । उनको ड्यूटी थियो, फिल्मी रिपोर्टिङ । 

नायक, नायिका, निर्माता, निर्देशक थुप्रैसँग चिनजान बढ्दै थियो । विदेशिने युवाहरुको कथावस्तु समेटेको चलचित्र ‘धन्दा’ को पत्रकार सम्मेलनमा पुगेकी उनलाई निर्माताले ‘हिरोइन’को अफर गरे । उनले केही नसोची स्वीकारिन् । 

अनि बन्यो ‘मधुमास’ । त्यो उनको डेब्यू थियो । उनी हिरोइन् भइन् । त्यसपछि ‘अझै पनि’ र ‘सँगसँगै’ मा पनि मौका पाइन् । र, युवामाझ चुलिइन् ‘प्रेमगीत’बाट । यो सिनेमा शीर्षगीत अहिले हरेक युवायुवतिको मुखमा झुन्डिइरहेको हुन्छ । 

उनलाई लाग्छ, प्रेमगीत उनको आफ्नै कथामा बनेको फिल्म हो । फिल्ममा उनको नायिका चरित्र अनि उनको स्वभाव ठ्याक्कै मिल्छ । हिरोलाई ‘तँ’ भनेर बोलाउने उनले कलेजका सबै केटाहरुलाई ‘तँ’ नै भन्छिन् । फिल्ममा लोग्ने मान्छेहरुसँग ‘सिंगौरी’ खेल्न कस्सिइहाल्ने उनले कलेज जीवनमा पनि थुप्रै केटाहरुलाई ‘पन्च’ हानिसकेकी छिन् । 

‘म कसैसँग डराउँदिन केटीहरुले केटाहरु नपिट्ने भन्ने हुन्छ र ? धेरैलाई पिटिसकेँ’ काठको कुर्सीमा अलि सजिलो बन्दै उनले भनिन् ‘म सानैदेखि त्यस्तै थिएँ, अहिले पनि त्यस्तै हुँ ।’ उनी घरकी एक्ली छोरी हुन् । 

प्लस टु सकिँदासम्मै उनी होस्टेल बसिन् । त्यसपछि स्नातक गर्दा उनी बाहिरिइन् । ‘अनि घोडाको लगाम फुस्कियो, म कस्ती भएँ हुँला ?’ अनुमान गर्ने जिम्मा उनले हामीलाई नै छोडिन् ‘हो, यो फिल्ममा पनि मेरै क्यारेक्टर घुसेको छ ।’ केटाहरुलाई ‘तँ’ भन्नु अनि केटाहरुलाई पिट्नु त २४ वर्षीया यी हिरोइन्को ‘प्यासन’ नै हो ।
‘प्रेमगीत’को अन्तिम दृश्य दुःखान्त छ । बाबुआमालाई झुक्याउँदै प्रेम गरेका ‘गीत’(पूजा शर्मा) अनि ‘प्रेम’(प्रदीप खड्का) को प्रेम असफल हुन्छ । अनि उनले भीरबाट हामफालेर आत्महत्या गर्छिन् । सँगै जिउने र सँगै मर्ने कसम पूरा गर्दै ‘प्रेम’ पनि त्यही भीरबाट हामफाल्छन् । 
 
उनीसँगै देहत्याग गर्छन् । ‘यसले त प्रेम गर्नेहरुलाई नकारात्मक सन्देश दिँदैन र ?’ प्रश्नमा एकछिन् गमेर उनले भनिन् ‘हो, ट्र्याजेडी नै छ, नेगेटिभ पनि हो तर, आजभोलिका केटाकेटीको भावना पनि बुझ्नुपर्छ बाबुआमाले, नत्र त्यस्तो घटना पनि हुनसक्छ भन्ने सन्देश पनि छैन र ?’ जवाफसँगै उनले प्रश्न तेर्स्याइन् । 

कलेज लाइफमा उनको पनि प्रेम थियो, ‘कसैसँग’ । नाम भनिनन् । पछि ‘ब्रेकअप’ भयो । त्यो पनि ट्र्याजेडी नै थियो । ‘प्रेमगीत’पछि उनलाई अहिले थुप्रै प्रेमप्रस्तावहरु पनि आउँछन् । 
 
थुप्रै दर्शकहरुसँग उनले सँगै फिल्म पनि हेरेकी छिन् । त्यही प्रपोजहरु पनि आउँछन् । ‘तर, साँचो प्रेम त त्यस्तै हुनुपर्छ, जहाँ दुई मुटुको एउटै धड्कन होस्, एकले अर्काेलाई राम्रोसँग बुझ्न सकियोस्’ उनले जानेको प्रेम परिभाषा यही हो । 

काठमाडौंकै सिनेमाहलमा उनी दर्शक भेट्न गएकी थिइन् । एउटा हलमा फिल्म सकिइसकेको थियो । फिल्मको अन्तिम दृश्यमा हिरो र हिरोइन् दुवैजनाको मृत्यु हुन्छ । फिल्म सकिनासाथ उनी भित्र छिरिन् । अनि दर्शकहरु चिच्याए ‘भूत... भूत...।’ पछि उनले ‘हैन हैन म साँच्चिकै पूजा हो’ भनेर दर्शकलाई सम्झाउनुप¥यो । आफ्नै फिल्म प्रेमगीत उनले १६ पटक हेरिसकेकी छिन् । 

पूजा अब आफैँ फिल्म बनाउने सोंचमा छिन् । चारवटा ठूला पर्दाका फिल्म र १५ भन्दा बढी म्यूजिक भिडियोमा खेलिसकेकी उनी अब आफ्नै लगानीमा फिल्म बनाउने तयारीमा छिन् । ‘स्क्रिप्टमा काम भइरहेको छ, सकेसम्म चाँडै नै आफ्नै फिल्म बनाउँछु’ उनले भनिन् । 

सन्तोष सेनले निर्माण गरेको यो चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका छन् । नेपालमा एक महिनाभन्दा बढी चलिसकेको यो चलचित्र प्रेमगीत अहिले विदेशमा पनि प्रदर्शनका क्रममा छ । निर्माता सेनका अनुसार अहिले खाडी मुलुकहरुमा यसको प्रदर्शन भइरहेको छ भने, अमेरिका तथा युरोपमा पनि प्रदर्शनको तयारी भइसकेको छ । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.