म्याग्दी बावियाचौर–५ ताराखेतमा सानो छाप्रोमा बस्दै आइरहेकी सविना अधिकारी माओवादी युद्धको सक्रिय लडाकु हुन् । तीनदर्जन भन्दा धेरै फौजी आक्रमणमा प्रत्यक्ष सहभागि भएकी अधिकारीको युद्धकै क्रममा दुवै खुट्टामा गोली लागेको छ । ०५७ सालमा ८ कक्षामा पढ्दा पढ्दै माओवादी युद्धमा लागेकी अधिकारीलाई अहिले आार्थिक र स्वास्थ्य समस्याले निकै कष्ट दिइरहेको छ । दशबर्ष सशस्त्र युद्ध अन्तर्गत माओवादीका ठूला भनिएका म्याग्दी आक्रमण, रुकुमको खारा,दाङको घोरही लगायतका आक्रमणमा भिडेकी अधिकारी युद्धकालिन अवस्थामा म्याग्दीमा चर्चित माओवादी नेत्रृका रुपमा समेत चिनिन्थिन् । बर्ग संघर्षको आन्दोलनमा होमिएकी अधिकारीलाई सैन्य प्रशिक्षण दिने नन्दकिशोर पुन उपराष्ट्रपतिको पदमा पुगेपनि अधिकारी जस्ता लडाकुहरूको दैनिकी भने अहिले सकसमै वितिरहेको छ ।
लक्ष्य अनुसारको उपलब्धी प्राप्त गर्न नसकेपनि पार्टीका नेताहरूमा आएको विचलन र क्रान्तिलाई धोकाको संज्ञा दिने पूर्व लडाकुहरूलाई त्यसबेलाको युद्ध अहिले सपनाजस्तै लाग्छ । तर युद्धकालीन अवस्थालाई सपना सम्झिर विर्सन खोजेपनि शरीरभरि लागेको चोट,त्यसले दिइरहने पीडा र जनतालाई बाँडेको आश्वासनले झन ताजा बनाइरहेको पूर्व लडाकूहरुको भनाई छ ।
०६० साल चैत्र ७ गते माओवादीले गरेको म्याग्दी सदरमुकाम बेनी आक्रमणको १२ बर्ष पूरा भएको छ । तर अहिले तिनै यद्धमा सहभागि भएका अधिकारी जस्ता धेरै माओवादीका लडाकुहरू पार्टीको सक्रिय राजनीतिमा छैनन् । म्याग्दी आक्रमणमा गम्भीर घाईते भएका अधिकांश पूर्व लडाकूहरु अहिले खाडी मुलुकमा रोजगारी गरिरहेका छन् ।
युद्धमा छातीमा गोली खाएर बचाएका कमाण्डरहरूले सहीद परिवार, घाईते र युद्धकालीन अवस्थामा भूमिगत भएकाहरूलाई संरक्षण गनुपर्नेमा आफ्नो परिवारलाई मात्र अकूत सम्पत्ती जोड्ने, युद्धमा विपक्षीलाई सहयोग गर्नेहरूलाई पार्टीको नेता बनाउने, युद्धकालीन अवस्थामा दिएको आश्वासन विपरित काम गर्ने गरेकाले सहिद परिवारको आँसु लाग्ने अधिकारी बताउँछिन् ।
द्धन्द्धकालीन अवस्थामा घाईते भएकाहरूको उपचारका लागि राज्यले बजेट निकासा गरेपनि आफूहरुको हातमा अहिलेसम्म एक पैसा नपरेको अधिकारीको भनाई छ । त्यसैले आर्थिक सहयोग जुटाएर, ऋण लिएर उपचार गरिरहेको उनले बताईन् । कतिसम्म भने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि राहत नपाएको युद्धमा घाईते भएकाहरूको गुनासो छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...