काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक मनाउने फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
‘विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृति आफैँमा मौलिक, समृद्ध रहेको छ, यस पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस्,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले फागु पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
आज शुभकामना सन्देश दिँदै उनले शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण समेत सिर्जना गर्ने उल्लेख गरेका छन् । (रासस)
0 comments
प्रतिक्रिया दिनुहोस्...