आफ्नै बिहेका लागि सामान किनेर फर्किंदा दुर्घटनामा परि नेपाली महिलाको दुबईमा मृत्यु
युएई, चैत १० – संयुक्त अरब एमिरेट्स युएईको दुबईमा रोजगारीका लागि आएकी एक नेपाली महिलाको ज्यान गएको छ । दुई वर्ष पहिले यहाँ आएकी काठमाडौंकी २६ वर्षकी दीपा राईको दुबईमा ज्यान गएको हो ।
दुबईमा रहेको वान एन्ड वन्ली रोयल मिराज ग्रुपको वान एन्ड वन्ली रोयल द पाम होटलमा दुई वर्ष अघिदेखि कार्यरत राईको सवारी साधनले ठक्कर दिदा गत बुधबार १६ (मार्च) बिहान ज्यान गएको हो । कम्पनीका सञ्चालक ओलीभर लुइसले एकपत्र जारी गर्दै नेपाली महिलाको सडक दुर्घटनामा परेर ज्यान गएको पुष्टी गर्नुभएको छ ।
उहाँ घरमा आफ्नो बिहेको तयारी भएकोले आफूले पनि परदेशबाट केही बहुमुल्य सामान लैजाने भन्दै किनमेल गर्न बिहानै साथीहरुसँगै बजार जानु भएको थियो । दुबईको अल्कुजमा रहेको औद्योगिक क्षेत्र नम्बर दुईमा रहेको सपिङ मलबाट सामान किनेर कोठामा जान सडक पार गर्दैगर्दा सवारी साधनको ठक्करले उहाको ज्यान गएको हो ।
एउटा हातमा बजारबाट किनेर ल्याएको सामान र अर्को हातमा मोबाइल चलाउँदै सडक पार गर्न लागेकी उहाँलाई सवारी साधनले ठक्कर दिँदा ज्यान गएको र दुर्घटनामा अर्की एक नेपाली महिलासमेत घाइते भएको प्रत्यक्षदर्शी बिक्रम खड्काले बताउनुभयो । घाइते नेपाली महिलाको अहिले अलरशिद अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ । घरमा रहेका आमाबुवाले उहाको बिहेको तयारी गर्नु भएको थियो । आफूले रोजेको सँग बुवाआमाले बिहे गरिदिने पक्का भएर दुबईबाट फर्किने तयारीमा रहनु भएकी उहाँको युएईमै ज्यान गएपछि परिवारका सदस्य शोकमा छन् । बिहेको भाका साँधेर दुई वर्ष सम्म घर जाने पैसा जोगाएर बसेकी दीपाको आशा गएको बुधबार बिहान तुहिएको हो ।
उहाँ घरजाने तयारीमा सामानहरु समेत किनेर राख्नु भएको थियो । अहिले ती सबै सामान कम्पनीले सुरक्षितसँग राखिदिएको छ । छोरीले कमाएर ल्याएको पैसा र आफूले जोहो गरेको पैसा जुटाएर धुमधामले वैशाखमा बिहे गरिदिने योजना बनाएका राईको परिवारमा अहिले रुवावासी छ । उता बुबाआमाले छोरीको बिहेको चाजोपाजो मिलाउन भन्दै ऋण र सरसापट गरेर धेरथोर पैसा जोहो गर्नुभएको थियो ।
उहाँले आफ्नो बिहेका लागि भन्दै आफूले दुई वर्षमा कमाएको पैसा नेपाल पठाईसक्नु भएको थियो । दुई वर्षपछि आफू फर्किँदै गरेको र दाम्पत्य जीवनमा बाँधिएर घरबिदामा परिवारसँग रमाइलो गर्ने योजना उहाँको थियो ।
अर्को हप्ता नेपाल जान कम्पनीले उहालाई हवाई टिकट समेत दिएको थियो । घटनाबारे नेपाली दूतावास आबुधाबीलाई कम्पनीले निरन्तर जानकारी गराइरहेको दूतावासले जनाएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...