दीक्षा श्रेष्ठ, २०, रेसनारी नाम दिइएको पहिलो राष्ट्रिय महिला मोटरबाइक रेस च्याम्पियन हुन् । धुलिखेल, काभ्रेकी उनले यसअघिका दुईवटा बाइक रेससमेत जितिसकेकी छन् ।
रेसनारी अघिल्ला दुई उपाधिभन्दा के कुरामा भिन्न छ ?
अघिल्ला दुई रेस स् कुटीमा गरिएका थिए, यसपटक बाइकमा गरिएको हो । त्यसमाथि, पहिलो राष्ट्रिय च्याम्पियन हुनु त विशेष हुने नै भयो ।
स्कुटर चलाइरहेको व्यक्तिलाई बाइकमा गाह्रो भएन ?
दैनिक जीवनमा स् कुटी चलाए पनि मैले ८ कक्षामा पढ्दै बाइक सिकेकी थिएँ । च्याम्पियनसिपका लागि आफन्त र साथीहरूले बाइक दिएर सघाए ।
अभ्यास कहाँ/कसरी गर्नु हुन्थ्यो त ?
राइडर्स अफ भक्तपुरको सदस्य हुनुले पनि रेस बुझेका साथीसँग संगत भयो । त्यसबाहेक, बाइक रेसकै एसियन ट्यालेन्ट कपमा सहभागी विक्रम थापाबाट धेरै कुरा सिक्ने मौका मिल्यो । युट्युबमा अरूको स्टन्ट हेरेर पनि सिकियो ।
कतिसम्मको स्पिडमा बाइक हाँक्नु भएको छ ?
प्रतिघन्टा १ सय १८ किमिसम्म कुदाएकी छु ।
नेपालमा बाइक रेसर हुनुको मुख्य चुनौती के छ ?
धेरैले यसबारे बुझेकै छैनन् । त्यसै त व्यावसायिक हुन अप्ठ्यारो छ, त्यसमाथि यसबारे अरूलाई हामीले नै बुझाउनु पर्छ ।
लगातार तीनवटा उपाधि जितिसक्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मानिसहरू म त अरूभन्दा निकै भिन्न अझ भनौँ धेरै बलियो छु भन्ने सोच्दा रहेछन् ।
एउटा रेसर सामान्य ड्राइभमा पनि रेसको अभ्यास गरिरहेको हुन्छ ?
सुरक्षाकै कारण पनि त्यसो गर्न त हुन्न । तर, मन त जतिखेर पनि उही हो, बाटो खुला देख्यो कि हल्का ट्राइ गरिहालौँ भन्नेचाहिँ हुँदो रहेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...