-->
नखेल्ने घोषणा गरेका मोर्चाकै नेता होलीमा मस्त/मोर्चाको निर्णय केही घन्टा पनि टिकेन ।

 
मोर्चाको निर्णय केही घन्टा पनि टिकेन
काठमाडौं: मधेसमा सरकारले रगतको होली खेलेको भन्दै यो वर्षको होली नखेल्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय केही घन्टा पनि टिकेन । 

मोर्चाका सदस्य घटक दलका नेताहरुले मंगलबार निकालेको विज्ञप्तीको मसी राम्ररी सुक्न नपाउँदै तिनै नेताहरु आफ्ना कार्यकर्ता र शुभचिन्तकसँग होलीमा रमे । 
आफूहरु पनि नखेल्ने र कार्यकर्तालाई पनि नखेल्न आह्वान गर्ने मोर्चाका नेताहरु उत्सवकै रुपमा होली मनाउन भ्याए । 
 
मोर्चाका नेताहरु महेन्द्र राय यादवदेखि शरदसिंह भण्डारीसमेत होलीको रंगमा रंगिए । यी नेताहरु काठमाडौंमा भएका होलीका सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । 
 
शरदसिंह भण्डारीले आफ्नै पार्टीका सभासद्ले जनकपुरमा गरेको सार्वजनिक कार्यक्रममै गीतसमेत गाएर होली मनाए । उनले सभासद् दिनेश साहले गरेको होली मिलन कार्यक्रममा सहभागी भएर रमाइलो गर्न भ्याए ।

त्यसैगरी मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरम नेपालका नेताहरुले वीरगन्जमा मंगलबारै भब्य होली कार्यक्रम गरेर शुभकामना साटन् भ्याए । 
 मंगलबारमात्रै मोर्चाले विज्ञप्ती निकालेर सरकारले मधेसमा रगतको होली खेलेर ६० जनाको ज्यान लिएको भन्दै यस्तो बेलामा खुसी र उल्लासको पर्व नमनाउने घोषणा गरेको थियो । 
 
'हाम्रो संघर्षको क्रममा पाँच दर्जन भन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइँदैन', मोर्चाले निकालेको विज्ञप्तीमा भनिएको थियो । 
 
मोर्चाको यो निर्णय एकातिर र कार्यान्वयन अर्कातिर भएपछि त्यसमा समेत कडा प्रतिक्रिया आएको छ । कतिपयले मोर्चाको यो निर्णयले जनताले संस्कृति र उत्सव मनाउन पाउने अधिकारमा मोर्चाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 
 
एमाले निकट युवा संघका केन्द्रिय सचिबालय सदस्य एवम मधेस ब्यूरो प्रमुख सन्जीव झाले राजनीतिक स्वार्थसिद्धीका लागि मोर्चाले होली नमान्ने भनेर जनताको उत्सव मनाउने अधिकारमा हस्तक्षेप गरेको बताए । 
 
'होली सांस्कृतिक पर्व हो । यसमा राजनीति कोही कसैले गर्नु हुँदैन',  उनले भने, 'सांस्कृतिक पर्वमा राजनीति गर्ने अधिकार कसैलाई पनि छैन। रगतको होली र जनताको संस्कृतिमा हस्तक्षेप बन्द गर ।'
उनले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनका लागि मतदान गर्ने मोर्चाका नेताले अहिले होली नमनाउनु हाँस्यास्पद भएको प्रतिक्रिया दिए । 
 
'सबै नेपालीले आफ्नो धर्म संस्कृति निर्वाध रुपमा मान्न पाउनुपर्छ', उनले भने, 'मधेसी मोर्चाले होली नमनाउने निर्णय गर्नु भन्दा मधेसको बिकास र कु-संस्कृति हाटाउने निर्णय गरेको भए आममधेसी जनता खुसी हुन्थे ।' 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.