अंग्रेजले गोर्खालीसँग हारेको जीतगढीमा गएनन् ह्या
भ्रमण नगराइएकोमा बुटवलबासीको गुनासो
बुटवलः सरकारले बेलायतका राजकुमार ह्यारीलाई बुटवलस्थित जितगढी किल्लाको अवलोकन भ्रमण नगराएकोमा बुटवलबासीले दुखेसो गरेका छन् ।
नेपाल र बेलायतबीच सुगौली सन्धि भएर कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सयौं वर्षगाँठको अवसरमा बेलायती महारानीको प्रतिनिधिकारुपमा नेपाल आएका ह्यारीलाई जीतगढी भ्रमण गराउनु मित्रताको महत्वपूर्ण सन्देश हुने धारणा यहाँका बुद्धिजीवीको छ ।
नेपाल र बेलायतबीचको गाढा सम्बन्धको आधारस्तम्भ जीतगढी किल्लाको उत्खनन र संरक्षण एवं पर्यटकीय प्रवद्र्धनमा ह्यारी र बेलायत सरकारको ध्यानाकर्षण गराउने सुनौलो अवसर चुकेको भन्दै बुटवलबासी दुखी भएका छन् ।
अठारौं शताब्दीमा नेपाल अंग्रेजबीच बुटवलमा भएको युद्धमा अंग्रेजले पूर्णरुपले हारेको ऐतिहासिक प्रमाण छ । त्यसको जीवन्त साक्षी हो जितगढी किल्ला । विश्व विजयको महत्वाकाङ्क्षा बोकेको अंग्रेज सेनालाई हराएको ठाउँ भएकोले बुटवल (बटौली) गढी जीतगढीमा रुपान्तरित भएको इतिहास छ ।
बुटवलको युद्धमा पूर्णरुपमा हारेको तितो अनुभव अंग्रेजलाई भएको सिन्धुली एवम् मकवानपुर गढी लगायतका ठाउँमा विन–विन अवस्थाको नमिठो अनुभव नेपाली सेनालाई भएपछि दुबैले कुटनीतिक मित्रताको हात मिलाएको इतिहास ह्यारीलाई जितगढीमा सुनाउन पाएको भए नेपालप्रति उनको सम्मानभाव अझ बढ्ने थियो ।
दुई सय वर्ष अघि मार्च महिनामा सुगौली सन्धि भै नेपाल र बेलायतबीच मैत्री सम्बन्ध स्थापित भएको थियो ।
भारतको सुगौली र बेलायतमा अहिले यो मैत्री सम्बन्ध स्थापनाको दुईसय वर्ष गाँठको अवसरमा उत्सव (सेलिब्रेसन) का कार्यक्रमहरु भैरहेका छन् । बुटवलको जीतगढीमा पनि उत्सव मनाउने तयारी स्थानीयले गरिरहेका छन् ।
इतिहास तथा संस्कृतिका अध्येता निर्मल श्रेष्ठले राजकुमार ह्यारीलाई जीतगढी किल्लाको अवलोकन गराउन पाएको भए मित्रताको राम्रो सन्देश हुने बताए । नेपाल र बेलायतबीच मित्रताको आधारस्तम्भ जीतगढी नै भएको श्रेष्ठको विश्लेषण छ ।
‘यस्तो सामान्य जंगलको खोँचमा बेलाययतको आधुनिक हतियारले सुसज्जित शक्तिशाली सेनाले कसरी हारे होला भनि ह्यारी र बेलायतीहरु चकित पर्थे होला’ श्रेष्ठले भने ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत धु्रवबहादुर खड्काले ह्यारीलाई जीतगढी किल्ला भ्रमण गराउने अवसर चुकेको बताए ।
जीतगढी (नुवाकोटगढी) विकास समितिका उपाध्यक्ष अनुपमान सैंजुले ह्यारीलाई यो ठाउँको अवलोकन गराउने अवसर चुकेको भन्दै दुःख प्रकट गरे । उनले फ्रान्सेली पर्यटकहरुले जीतगढीको भ्रमणपछि चकित परेर गएको अनुभव पनि बताए ।
जीतगढी–बटौली संरक्षण समितिका संयोजक रविन्द्र गोपाल लाकौलले यहाँ नेपालले जितेको तिथिमा उत्सव मनाउने तयारी गरिरहेको बताए ।
ह्यारी मात्र नभई अहिलेसम्म नेपाल भ्रमणमा आएका कुनै पनि बेलायती उच्च पदाधिकारीहरुलाई सरकारले जीतगढीको भ्रमण नगराएकोमा समेत बुटवलबासीले दुःखमनाउ गरेका छन् ।
आगामी दिनमा जितगढीलाई पनि समावेश गर्न उनीहरुले माग गरेका छन् । बेलायतका तर्फबाट नेपाल भ्रमण गर्ने पहिलो उच्च पदाधिकारी सम्राट जर्ज प्रथम हुन् । त्यस्तै महारानी एलिजाबेथ, युवराज चाल्र्स र युवराज फिलिपले नेपाल भ्रमण गरेको इतिहास छ ।
फोटोः नदी कटान र मानवीय अतिक्रमणबाट नष्ट हुने खतरामा रहेको बुटवलस्थित जितगढी किल्ला । यहाँ कम्तिमा पाँच सय मिटरको लामो दुरीको सुरुङ मार्ग भएको अनुमान गरी थालिएको उत्खनन कार्य पनि रकमको कमीले अवरुद्ध छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...