-->
माल पाएर चाल नपाएपछि.

जापानी उपहार उपत्यकाका ट्राफिक लाइट 
काठमाडौं: छिमेकी उपहारमा खुसी हुन्छ सरकार । तर उपहारको संरक्षण गर्न नसक्दा उत्तिकै आलोचित पनि । जापानी सहयोग नियोग जाइकाले २०५९ मा सरकारलाई हस्तान्तरण गरेको राजधानीका ट्राफिक लाइट अहिले कुनै पनि बल्दैनन् ।
 
बेलाबेलामा ‘झिलिकमिलिक' गरे पनि ती सबै देखाउनका लागि हुन् । विगत १० वर्षदेखि ट्राफिक लाइटमा समस्या रहे पनि सरकारी संयन्त्रको ध्यान नपुगेपछि ती सबै कामै नलाग्ने गरी बिग्रिएका छन् । उपत्यकाका विभिन्न २८ स्थानमा ट्राफिक संकेत बत्ती राखिएका छन् ।
 
‘ट्राफिक सिंग्नल कन्ट्रोलर' प्रविधिका यी लाइटहरू जाइकाले सुरुको वर्ष थापाथलीमा जडान गरिदिएपछि लगत्तै दुई वर्षमा थप २० ठाउँमा जडान गरिदिएको थियो ।
 
लाइट जडानपछि केही समय कन्सल्ट्यान्टका रूपमा काम गरेका स्वछन्द निर्माण सेवाका एक इन्जिनियरका अनुसार तत्कालीन समयमा नेपालमा २२० भोल्टेजमा बत्ती चल्दै आए पनि जापानले भने ११० भोल्टेजमा बत्ती बल्ने सिस्टम राखिदिएको थियो । ती बत्तीहरूमा विद्युत् ब्याकअपका लागि सोलार प्यानलबाट आफैं चल्ने सिस्टमसमेत राखिएको थियो । तर २०६५ देखि नै लोडसेडिङ धेरै हुन थालेपछि ब्याकअपका लागि ब्याट्री राख्न थालिएको थियो ।
 
१८ घन्टासम्म लोडसेडिङ हुन थालेपछि ब्याट्रीको भोल्टेजले काम गर्न छाडेको थियो । सडक विस्तार कार्य सुरु भएपछि कलंकी, बबरमहल, पुतलीसडकलगायतका स्थानमा पोलमात्रै ढालिएन, पोलका बत्तीसमेत चोरी भएको थियो । 
 
लाइट जडानको सुरुसुरुमा जाइकाकै इन्जिनियर आएर लाइट सिस्टम मर्मतसम्भार गर्दै आएका थिए । सरकारलाई पूर्ण रूपमा हस्तान्तरण गरेपछि सडक विभागका इन्जिनियरले हेर्दै आएका थिए । ती इन्जिनियरका अनुसार थापाथली, सिंहदरबार, पुतलीसडकमा राखिएका ट्राफिक संकेत बत्ती त पूरै मर्मत गर्नुपर्छ ।
 
कलंकी, कालीमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, केशरमहल, नारायणहिटी संग्रहालयको दक्षिण गेट, गौशाला, तीनकुने, बानेश्वरलगायतका २८ स्थानका ट्राफिक बत्ती बैल्दैनन् ।
 
सडक विभागले सार्क सम्मेलनका समयमा अस्थायी रूपमा केही लाइट चालू अवस्थामा देखाएर ट्राफिक प्रहरीलाई जिम्मा लगाए पनि सडकमा सवारी चाप र भीआईपीका सवारीमा लाइटको प्रविधिले काम नगरेपछि कुनै पनि लाइट चालू अवस्थामा आउन सकेनन् ।
 
ट्राफिक बत्ती व्यवस्थित हुन नसक्नुमा सडक विभाग र ट्राफिक प्रहरीले एकले अर्कोमाथि दोषारोपण गर्दै आआफ्नो जिम्मेवारीबाट पन्छिँदै आएका छन् । सडक विस्तारका क्रममा ट्राफिक संकेत बत्तीका धेरै वायरहरू चुँडिएका थिए । विभागका अनुसार अहिले नयाँ प्रविधिको लाइट ल्याउन एडीबी र विश्व बैंकले छुट्टाछुट्टै प्रोजेक्टमा काम गरिरहेका छन् । 
 
विभागका उपमहानिर्देशक दयाकान्त झाले अहिलेको लाइट सिस्टम धेरै पुरानो भइसकेकाले नयाँ प्रविधि आवश्यक पर्ने बताए पनि कस्तो प्रविधि भन्नेबारे खुलाउन चाहेनन् । ‘कति बनाउने, धेरै पुरानो प्रविधि कहिले सामान नपाउने, भनेको समयमा इन्जिनियर नपाउने, बरु नयाँ प्रविधियुक्त बत्ती जडानका लागि आवश्यक गृहकार्य गरिरहेका छौं । लाइटको निरन्तर मर्मत गर्न नसक्दाको परिमाण हो यो', झाले भने ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, ‘सडकमा ज्यान जोखिममा राखेर कति दिन ट्राफिक खटाउने ? प्रविधिले फड्को मारेको कुरा गर्ने तर व्यवस्था प्रणाली म्यानुअल नै रहेपछि के काम लाग्यो ? ट्राफिक लाइट कुनै पनि हालतमा बनाएर सञ्चालनमा ल्याउनुको विकल्प छैन ।' 
 
उनले उपत्यकाको ट्राफिक प्रणाली पुरानै ढाँचामा चलेको बताउँदै आफूले केही हदसम्म सुधार गर्ने दाबी गरे ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.