ब्रसेल्समा शृंखलाबद्ध आतंककारी आक्रमण
ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्सका दुई व्यस्त ठाउँमा मंगलबार आतंककारी आक्रमण भएको छ । सो आक्रमणमा ३४ जना मारिएका छन् भने १५० भन्दा बढी घाइते भएका छन् । घटना ब्रसेल्स एयरपोर्ट र मेट्रो रेल स्टेसनमा भएको हो । घटनापछि युरोपभर सुरक्षा बढाइएको छ भने बेल्जियम आउजाउका प्रमुख नाकाहरू बन्द गरिएका छन् ।
बेलायतबाट बेल्जियम आउने अन्डरग्राउन्ड रेलसेवा बन्द गरिएको छ भने अन्य मुलुकसँगको हवाई सेवा तत्कालका लागि बन्द गरिएका छन् । प्रत्यक्षदर्शीका अनुसार विमानस्थल आक्रमणअघि अरबी भाषामा ठूलो स्वरमा आवाज आएको, गोली चलाइएको र दुई विष्फोट भएका थिए । दुई विष्फोटमध्ये एक जना आत्मघाती हमलाकारी भएको आशंका गरिएको छ ।
१ सय ३० जनाको ज्यान जाने गरी गएको नोभेम्बर महिनामा पेरिसमा शृंखलाबद्ध आक्रमणको योजनाकार मानिएका व्यक्ति सलेह अब्देसलामलाई ब्रसेल्समा चार दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
यस घटनालगत्तै बेल्जियाली प्रहरी, सशस्त्र दललाई आक्रमण क्षेत्रमा खटाइएको छ । ब्रसेल्समा सबै यातायातका साधन बन्द गरिएका छन् । सन् २००५ मा पनि लण्डन आक्रमण हुँदा यस्तै विधि अपनाइएको थियो । लण्डन आक्रमणमा ५२ जना सर्वसाधारण मारिएका थिए ।
घटनालगत्तै मोबाइल फोनको अत्यधिक प्रयोग नगर्न सरकारले आग्रह गरेको छ । टेलिफोन सेवा अवरुद्ध भई अन्य महत्वपूर्ण कार्यलाई असर पर्ने भएकाले कम मोबाइल प्रयोग गर्न आग्रह गरिएको हो । सरकारले जो जहाँ छन्, त्यहीँ प्रतीक्षा गर्न आग्रह गरेको छ । सुरक्षा अधिकारीले आक्रमण भएको ठाउँमा राइफल फेला पारेको छ । यो राइफल इस्लामिक स्टेटले प्रयोग गर्ने गरेका छन् । बेल्जियम र फ्रान्स आक्रमणमा यही राइफल प्रयोग हुने गरेको देखिएको छ ।
एयरपोर्टमा अझै विष्फोट नभएका सामग्री हुन सक्ने आशंका गर्दै प्रहरीले खोजी कार्य जारी राखेको छ । चेक इन डेस्कमा बम विष्फोट गराइएको एक प्रत्यक्षदर्शीले बताए । घटनाको सूत्र फेला पार्न प्रहरीले ब्रसेल्स क्षेत्रका घरघरै खोजी कार्य राखेको छ । मेट्रो रेलमा २० जना र विमानस्थलमा १४ जना मारिएका छन् । यसअघि अधिकारीहरूले एयरपोर्टमा ११ र मेट्रोमा १५ जना मारिएका जनाएका थिए ।
घटनापछि बेलायत, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्सले देशको सुरक्षालाई अतिरिक्त बढाउने घोषणा गरिसकेका छन् । घटनाबारे बोल्दै बेल्जियाली प्रधानमन्त्री चाल्र्स मिसेलले 'हाम्रो देशका लागि यो कालो समय हो' भने । उनले भने, 'हामीले जे कुराबाट डराइरहेका थियौं, आखिर भइछाड्यो । अन्धा, हिंस्रक र डरछेरुवाहरूले हाम्रो देशलाई नराम्ररी प्रहार गरे ।' बेल्जियम घटनालगत्तै फ्रान्सेली प्रधानमन्त्री मानुएल भाल्सले भने, 'हामी युद्धमा छौं र गएका केही महिनायता हामीलाई युरोपमा युद्धको अवस्थामा पु¥याइएको छ ।'
सुरक्षालाई ख्याल गर्दै बेल्जियमको न्युक्लियर पावर प्लान्ट खाली गराइएको छ । त्यस्तै ब्रसेल्स एयरपोर्टले आज बिहानसम्मका लागि सम्पूर्ण हवाई उडान बन्द गरेको छ । सम्पूर्ण यात्रुलाई सुरक्षित स्थलतर्फ लगिएको छ । त्यस्तै लन्डन–ब्रसेल्स रेल सेवा बन्द गरिएको छ । इस्लामिक स्टेटको पुनः आक्रमणलाई ध्यानमा राख्दै पश्चिम युरोपमा उच्च सतर्कता अपनाइएको छ । इस्लामिक स्टेटले यसअघि पेरिस आक्रमण गरेको थियो ।
सबै किसिमका सुरक्षा अपनाइने गरिए पनि विमानस्थलमा गरिने अन्तिम चेकआउटमा यस किसिमको घटना घट्ने गरेको देखिएको छ । विमानस्थलमा सबै किसिमका मानिसको आउजाउ हुने हुनाले सबै जाँच गर्न असम्भव हुँदा यस्तो घटना घट्ने गरेको केहीको धारणा छ ।
घटनालगत्तै युरोपेली सेयरबजारमा प्रभाव परेको छ । मूलतः होटल र एयरलाइन्स समूहका सेयर घटेका छन् भने सुन र सरकारी बोन्डको सेयर मूल्य बढेका छन् । बेल्जियमका गृहमन्त्री जोन जाम्बोनले घटना अब्देसलामको पक्राउविरुद्ध भएको प्रतिक्रिया दिएका छन् । अब्देसलाम फ्रान्सेली नागरिक हुन् ।
युरोपभर हलचल
घटनालगत्तै स्पेनको संसद र म्याड्रिडको टाउन हलमा ब्रसेल्समा मारिएका सर्वसाधारणको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । स्पेनी सरकारले घटना 'हिंसा र आतंकको भाषा जान्नेहरूले सबैभन्दा अमानवीय र हिंस्रक चरित्र प्रदर्शन गरेको' भन्दै निन्दा गरेको छ ।
स्पेनी विदेशमन्त्री जोस म्यानुएल गार्सिया मार्गालोले घटनामा आइएसका सशक्त सैन्य परिचालन भएको बताएका छन्् । स्पेनले घटनालगत्तै सुरक्षा व्यवस्था सशक्तभन्दा एक तह कमको कडा बनाएको छ ।
यता लन्डन प्रहरीले बेल्जियममा भएको आक्रमणसँग सम्बद्ध कुनै भिडियो फुटेज पाइए सार्वजनिक गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । महानगरीय प्रहरीले सोही कामका लागि फोटो र भिडियो फुटेज हाल्न वेबसाइट बनाइएको बताएको छ । यसअघि बेलायती प्रहरीले लन्डनका हिथ्रो र गेटविक विमानस्थलमा सुरक्षाको तह बढाएको छ ।
बेलायती सुरक्षा निकाय स्कटल्यान्ड यार्डका सहायक कमिस्नर मार्क रलीले बेल्जियमका अधिकारीहरूसँग प्रतिआतंकवाद प्रतिरोधका सन्दर्भमा मिलेर काम गरिरहेको बताए । बेलायतमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । सन् २०१४ यता पहिलो पटक यति उच्च सतर्कता अपनाइएको हो ।
नेदरल्यान्ड्समा ब्रसेल्सबाट आउने रेल सेवा बन्द गरिएको छ । बन्द गरिएपछिको असहज अवस्थालाई व्यवस्थापन गर्न यात्रुलाई नजिकैको होटलमा राखिएको छ । रेल स्टेसनमा सशस्त्र प्रहरीले गस्ती गरिरहेका छन् ।
ब्रसेल्सस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सार्वजनिक सवारीमा चढ्न र जहाँ छन्, त्यहीँ अवस्था नसुध्रिउञ्जेल कुर्न आग्रह गरेको छ । घटनालगत्तै २०० भन्दा बढी फ्लाइट ब्रसेल्सबाट अन्यत्र पठाइएको छ । फ्रान्सेली राष्ट्रपतिले घटनाको निन्दा गरेका छन् भने पेरिसका मेयरले इफेल टावरलाई बेल्जियाली झण्डाले रंग्याइने बताएका छन् ।
रुसले भन्यो, 'दोधारे नीतिको परिणाम'
रुसी विदेश मन्त्रीकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमी युरोपेली राष्ट्रको दोधारे नीतिका कारण यस्ता आक्रमण भएको टिप्पणी गरेकी छन् । नेटो र रुसबीचका कूटनीतिक सम्बन्ध चिस्याइएका कारण आतंकवादविरुद्धको युद्धमा रुसले सहयोग गर्न नसकेकोसमेत उनले बताएकी छन् ।
रुसी प्रशासनिक केन्द्र क्रेमलिनले घटनाप्रति दुःख व्यक्त गर्दै बेल्जियमप्रति आफ्नो एक्यबद्धता रहने जनाएको छ । रुस र अमेरिकाबीच सिरियाको नाजुक शान्ति सम्झौता र जारी द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा रहेका असमझदारीले इस्लामिक स्टेट समूहका आतंककारी खतरा टार्न भने सकेको छैन ।
यसैबीच फेसबुकले घटनाबारे संवेदनशीलता देखाउँदै 'सुरक्षा जाँच' प्रणाली सुरु गरेको छ, जहाँ आफ्ना साथीभाइले घटनामा कोही परे÷नपरेको बारे फेसबुकमार्फत् जानकारी लिने र दिने गर्दछन् । फेसबुकले जारी गरेको 'सेफ्टी चेक' पछिल्ला समयमा ठूला भूकम्प, बाढीपहिरोका बेला निकै काम लागेको छ ।
'बेल्जियम दरबार खाली !'
राजधानी ब्रसेल्सको मध्यमा रहेको शाही दरबार मंगलबारको बम विष्फोटलगत्तै खाली गराइएको समाचारमा सत्यता नभएको दरबारको आधिकारिक ट्विटरमार्फत् जनाइएको छ । 'केही समाचारमा आएजस्तो दरबार खाली गराइएको छैन,' ट्विटरमा लेखिएको छ ।
यसअघि एउटा टेलिभिजनले राजा फिलिप र रानी माथिल्डा घटनाप्रति हतप्रभ भएको र दरबार खाली गराइएको समाचार प्रसारण गरेको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...