-->
न्युजिल्यान्ड सेमिफाइनलमा ।

चैत्र १०, २०७२- न्युजिल्यान्ड लगातार तेस्रो विजय हात पार्दै विश्व ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्यान्डले मंगलबार पाकिस्तानलाई २२ रनले पराजित गर्यो ।

मार्टिन गुप्टिलले ८० रन बनाएपछि टस जितेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८० रन बनायो । अन्तिम ३१ बलमा कुनै बाउन्ड्री हान्न नसकेको पाकिस्तानले ५ विकेट गुमाई १ सय ५५ रनमात्र बनाउन सक्यो ।

न्युजिल्यान्डले यसअघि आयोजक भारतलाई ४७ र अस्ट्रेलियालाई ८ रनले पराजित गरेको थियो । न्युजिल्यान्डको प्रमुख प्रतियोगितामा यो अर्को सफलता हो । अघिल्लो वर्ष अस्ट्रेलियासँग आफैंले मिलेर आयोजना गरेको एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड फाइनलसम्म पुगेको थियो ।

गुप्टिलले ४८ बलको इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरे । कप्तान केन विलियम्स १७ र कोलिन मुनरो ७ रनमै आउट भए । कोरे एन्डरसनले १४ बलमा ३ चौका प्रहार गरी २१ रन बनाए । रोज टेलरले २३ बलमा २६ रन बनाई नटआउट रहे ।

उनले २ चौका र १ छक्का प्रहार गरे । लुक रोन्ची ७ बलमा १ छक्का प्रहार गरी ११ रनमा आउट भए । पाकिस्तानका मोहम्मद सामी र साहिद अफ्रिदीले २–२ तथा मोहम्मद इरफानले १ विकेट लिए ।

ओपनरद्वय सार्जिल खान र अहमद सेहजादले ६ ओभरभित्र ६५ रन जोडे पनि पाकिस्तानले त्यसको फाइदा उठाउन सकेन । सार्जिल ४७ रनमा आउट भए । २५ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । सेहजादले ३२ बलमा ३ चौकासहित ३० रन बनाए ।

उमर अकमाल २४, कप्तान साहिद अफ्रिदी १९ रनमा आउट भए पनि पाकिस्तानले आवश्यक प्रतिओभर रन पछयाउन सकेन । न्युजिल्यान्डका मिचेल सान्टनर र एडम मिल्नेले २–२ विकेट लिए ।

न्युजिल्यान्डले बंगलादेशसँग समूहमा अन्तिम खेल खेल्न बाँकी नै छ । अस्ट्रेलिया र भारतबीच हुने खेलले यस समूहको अर्को सेमिफाइनल टोली तय गर्न सक्छ । अस्ट्रेलियाले पाकिस्तानसँग पनि खेल्न बाँकी नै रहेको छ ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.