-->
बाबुरामको नयाँ शक्ति: थोत्रे अनुहारमा र‍ंगरोगन गरेजस्तै


नयाँ शक्ति: थोत्रे अनुहारमा रंगरोगन गरेजस्तै
लिबाङः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्धका बेला अहिले एमाओवादी छाडेका नेता डा बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिया पकाउने काम गरेको बताएका छन् । 

बुधबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित नेकपा एमालेको जिल्ला कार्यकर्ता भेलामा नेता नेपालले यस्तो बताएका हुन् ।
 
युद्ध झेलेका रोल्पालीमाझ बुधबार बोल्दै नेता नेपालले बाबुराम भट्टराईलाई कारबाही गरी श्रमशिविरमा राखेका बेला तत्काल माओवादीका अध्यक्ष दाहाललाई आफूले फोन गरेको पनि खुलासा गरे ।
 
‘मैले दाहालजीलाई फोन गरेर नेता भट्टराईलाई बन्धक वनाएका बेला कसैले मारिदेला, तपाईंहरुले पनि नमार्नुहोला भनेको थिएँ’, नेता नेपालले भने, ‘त्यसबेला दाहालले मैले बाबुरामलाई आफ्नै चिया पकाउने जिम्मामा राखेको छु फरक पर्दैन भनेका थिए ।’ 
 
युद्धका बेला माओवादी गलत बाटोमा रहेपनि अहिले सुध्रदै गएको उनले दाबी गरे । नेता नपालले हिजोका माओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको नाटक गरेको प्रति कटाक्ष गरे ।
 
‘बाबुरामले कम्यूनिष्ट नै त्यागेर नयाँ शक्ति भन्दैछन । उनले भनेको नयाँ होइन, पुरानो रक्सी नयाँ बोत्तलमा राखे जस्तै हो’, नेता नेपालले ब्यंग्य गरे, ‘थोत्रिएको अनुहारमा डेन्टिङपेन्टिङ गरे जस्तै हो, नयाँ शक्ति ।’
 
नेता नेपालले बहुदलीय जनवादको बाटोबाटै सत्तामा पुग्न सकिने भन्दै प्रतिस्पर्धामा सबै आउनु पर्ने बताए ।
 
बन्दुकको बलबाट होइन, प्रतिस्पर्धाबाट अब्बल पार्टी बन्न सक्नु आजको आवश्कता भएको भन्दै नेता नेपालले विप्लव माओवादीलाई बन्दुकको धङ्धङीबाट मुक्त हुन आग्रह गरे ।
 
नेता नेपालले सोही कार्यक्रममा नेपालको आन्तरिक मामलामा छिमेकीले टाउको नदुखाउन आग्रह गरेका छन् । 
 
‘नेकपा एमालेले दुवै छिमेकी देश चीन र भारतसँग सुमधुर सम्बन्ध वनाउन चाहन्छ । हामीले कसैसँग शत्रुता मोल्नु छैन । कसैलाई शत्रु बनाउनु छैन । सबैसँग मिलेर जान चाहन्छौं’, नेता नेपालले भने, ‘नेपालको आन्तरिक मामिला हल गर्नेमा छिमेकीले टाउको नदुखाऔं । नेपाली नेपाल सञ्चालन गर्न सक्षम छौं ।’ 
 
उनले छिमेकीका राम्रा कामबाट भने सिक्न चाहेको दाबी गरे । छिमेकीका राम्रा कुरा छन भने पनि बसेर छलफल गर्न सकिने बताए । नेता नेपालले थपे, ‘छलफलबाट एक अर्काका राम्रा अनुभव र कुरा साटासाट गरौं ।’ संसारभरका देशले नेपाललाई माया र सम्मान गरेको समेत उल्लेख गर्न भ्याए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको भ्रमण महत्वपुर्ण रहेको नेता नेपालले बताए । संविधानले जनजाति, मधेशी, महिला सबैको अधिकार सुनिश्चित गरेको दावी गर्दै मधेशमा संविधानमा केही पनि छैन भन्ने अफवाह फैलाएको बताए 
 
‘कागले कान लग्यो भन्दा कागको पछिपछि दगुर्दा थाकेर असिनपसिन हुँदै कान छाम्दा कान आफुसँगै थियो भन्ने उखान छ’, उनले भने, ‘यस्तै संविधानमा मधेशको केही पनि अधिकार छैन भन्दा कागको पछि दगुरेझैं भयो । आखिर संविधान हेर्दा त मधेशीका सबै अधिकार संविधानमा छ ।’
 
उनले एमालेको सचेत पहलबाट माओवादीलाई प्रतिस्पर्धाको राजनीतिमा ल्याएको दावी गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रहेको रोल्पाको लोसेबाङमा नेता बामदेव गौतम र युवराज ज्ञवालीलाई पठाएर ६ बुँदे सम्झौता गरेको स्मरण गरे ।
 
त्यसलगत्तै दाहाल र कांगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा आफैंले भेट गराएर शान्ति स्थापनाको पहलको गरेको खुलासा गरे । 
 
‘नेता दाहाललाई मैले नै फोन गरेर दिल्ली बोलाएँ । गिरिजाप्रसादलाई पनि उतै बोलाएर १२ बुँदे भएको हो । जस लिनलाई कांगे्रसले हामीले गरेको भन्छन । त्यो सत्य होइन’, नेता नेपालले दाबी गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.