उवाका चुनौती र अवस
प्रचण्ड बहुमतका साथ शेरबहादुर देउवालाई नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनले सभापति निर्वाचित गरेसँगै पार्टीबारे सभापतिको अवधारणा, मनोवृत्ति र कार्यशैलीमा पनि बदलाव आउने देखिन्छ । यसअघिका करिब दुई दसकसम्म कांग्रेसमा परिवारलाई पार्टी मान्ने जहानियाँ मनोवृत्ति देखिन्थ्यो । देउवाका पालामा पार्टीलाई नै परिवार मान्ने प्रवृत्तिको आधार देखा परेको छ ।
हिजोसम्म ‘हाम्रा सबै राम्रा' भन्ने पक्षपाती शैलीको बोलवाला थियो । आज ‘राम्रा सबै हाम्रा' भन्ने मान्यताले स्थान पाउने सम्भावना बढेको छ । म सभापति देउवालाई २०२६ सालदेखि नै राम्रोसँग चिन्छु। उहाँ स्वयं नै ‘विरासत' द्वारा भाग्यमानी बनाइएका नेता होइन, आफ्नै वीरता र संघर्षले खारिएका नेता हुनुहुन्छ, जसले उक्त शीर्षस्थ ओहोदामा पुग्न २०५७ मा सम्पन्न दसौँ (पोखरा) महाधिवेशनदेखि नै धैर्यशील भएर धेरै पापड बेल्नुपरेको छ ।
-
पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिमा उहाँलाई सुविधाजनक बहुमत उपलब्ध भएकै आधारमा मात्र उहाँको अगाडिका विद्यमान अप्ठ्यारा हट्दैनन् । नेताका अप्ठ्यारालाई निकटवर्र्तीहरूले पहिल्याइदिन सकेनन् भने विडम्बना हुन्छ । त्यस्ता बुद्धिमान, शालीन र दूरदर्शी सहकर्मीहरू उहाँसँग कति छन्, यसै भन्न सकिन्न । देउवाका लागि ढाल बनिदिने सहकर्मी भए उहाँलाई निर्णायक कदम चाल्दै अघि बढ्न सजिलै हुन्छ ।
तर आफ्ना भनिएकाहरूकै लागि उहाँ ढाल बनिदिनुपर्ने भयो भने, निश्चित छ, विगत दुई दसकको चरित्रको पुनरावृत्ति हुनेछ । विगतमा सत्ता चलाउँदा बनाइएका राजनीतिक समीकरणको परिणामस्वरूप उहाँको मयलपोसमा लागेका दाग अझै पनि मेटिएका छैनन् । त्यसलाई मेटाउने अवसर आएको छ । उहाँले पार्टीलाई सुधार्न आफैँभित्र परिवर्तित मनस्थिति र परिपक्वता देखाउनुभएको छ ।
सिद्धान्तविनाको पार्टी अराजक, दिशाहीन र अवसरवादी मानिसहरूको बेवारिस अखडा हुनपुग्छ । विगतमा पार्टीले आफ्ना आधारभूत सिद्धान्त र मान्यता छोडेर ‘गतिछाडा' तरिका अपनाएकै हो । ‘समाजवाद' लाई परित्याग गरेर सुरु भएको भष्मासुर प्रवृत्ति लोकतन्त्र हुँदै राष्ट्रियताको जगसम्म पुग्यो । पार्टीलाई सिद्धान्तच्युत बनाउने काम पूर्ववर्ती नेतृत्वबाट भयो ।
आज पार्टीका आधारभूत सिद्धान्त र नीतिलाई मार्गदर्शनका रूपमा सुचारु गराउने काम कठिन छ । तर यो नगरी नहुने काम हो । ‘वैचारिक पुनर्जागरण' नै पार्टीका आधारभूत सिद्धान्त र नीतिको पुनस्र्थापना गर्ने उपाय हो । यसमा उहाँ कति सफल हुनुहुने हो, त्यसै आधारमा उहाँको मूल्यांकन हुनेछ । प्रारम्भिक गतिविधि हेर्दा उहाँ एउटा गुटको नाइके होइन, समग्र कांग्रेसको नेता हुने चेष्टामा हुनुहुन्छ । त्यो चेष्टालाई इमानदारीका साथ सहयोग पुर्याउने सहकर्मी उहाँलाई खाँचो हुन्छ ।
‘परिक्रमा' मात्र जानेको चाकरीकर्ताबाट होइन, ‘पराक्रम' को क्षमता भएको कार्यकर्तालाई विश्वासमा लिएरै उहाँ सफल बन्न सक्नु हुन्छ । त्यसको लागि उहाँले पार्टीको महासमितिलाई उपयोग र परिचालन गर्न सक्नुपर्छ । किनकि असल कार्यकर्ता त्यहाँ हुन सक्छन् ।
अरू पार्टीहरू तलबाट माथितिर लथालिंग र भताभुंग भएको देखिएको हो भने काँग्रेसचाहिँ माथिबाट तलतिर लथालिंग हुँदै गएको पार्टी हो । पार्टीको केन्द्रीय समितिले ४÷४ वर्षसम्म पनि पूर्णता पाएको थिएन । भ्रातृ संगठनहरूको अधिवेशन र नेतृत्व चयन नै हुन सकेन । नेविसंघको अधिवेशन–तिथि आधा दर्जनभन्दा बढीपटक सारेर पनि अधिवेशन नै नगर्ने रमिता जोरीपारीलाई देखाउने काम गरियो ।
४२ वटा केन्द्रीय विभाग गठन भए, तर कुनै पनि विभागले एउटा बैठकसम्म बोलाउन सकेन । पार्टीमा हावी भएको परिवारवाद र ‘हाम्रा सबै राम्रा' ठान्ने मनोवृत्तिको यो दुष्परिणाम हो । पार्टीमा जरा गाड्न थालेका यस्ता अनेकौँ अराजक, अनुशासनहीन र छाडा गतिविधिलाई काबुमा ल्याउन सभापति देउवाले ठूलै अपरेसन चलाउनुपरेको छ । त्यसका लागि उहाँलाई भरोसायोग्य र जनप्रिय सहकर्मी चाहिन्छ ।
कांग्रेसको तेह्रौँ महाधिवेशनको गम्भीर विशेषता हो, महाधिवेशन प्रतिनिधिहरूको मनोविज्ञानमा नेपाललाई हिन्दु राज्य नै कायम गरिनुपर्छ भन्ने चाहना । यो एजेन्डा उठाएका नेताहरूले पाएको मतमा यही यथार्थ प्रतिबिम्बित भएको छ । युगको माग र समयको पदचाप बुझ्न नसकेकाले होला, ठूलाठूला हस्तीहरू पनि निर्वाचनमा पराजित भए । ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री' को उपाधि पाएकाहरू पनि पछाडि परे । खुमबहादुर खड्काले सदस्य पदका लागि दोस्रो सर्वाधिक मत पाउनु र महामन्त्री डा. शशांकलाई अनपेक्षित मत पर्नुको कारण उहाँहरूलाई भोट परेको भन्नुभन्दा भोटमा उहाँहरू पर्नुभयो भन्न सकिएला ।
जे होस्, ‘नेपाललाई हिन्दु राज्य नै कायम राख्नुर्ने' एजेन्डा कांग्रेसभित्र क्रमशः बलियो हुँदै जाने देखिएको छ । यसलाई कसरी तर्कसंगत टुंगो दिने ? सभापति देउवालाई यो प्रश्नले जवाफदेही बनाएको छ । यो एजेन्डा अब पार्टीको महासमिति र केन्द्रीय कार्यसमितिका बैठकमा पनि सशक्त रूपमा उठ्नेछ, जसको पछाडि ९४ प्रतिशत हिन्दु तथा ओमकार परिवार छन् ।
युरोपेली चर्च र क्रिश्चियन संगठनहरूको लगानीमा झाँगिएका नेपाली क्रिश्चियनहरूले गुँड लगाएको पार्टी भन्नु नै एमाओवादी हो । एमाओवादीको उक्साहटमा लागेर तिलस्मी र षड्यन्त्रात्मक तरिकाले घुसाइएको ‘धर्म निरपेक्ष नेपाल' को एजेन्डा अब हटाएर नेपाललाई हिन्दु राज्य नै कायम गर्नुपर्ने आम जनताको माग कांग्रेस महाधिवेशनमा मतदानद्वारा प्रकट भइसकेको छ । मतदाताको यो ट्रेन्ड र मुडले उचित सम्बोधन पाएन भने विकृति र असंगतिका अरू संस्करण नदेखिएला कसले भन्न सक्छ ?
---
नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रको अभ्यासमा खर्चालु र भड्किलो शैली अपनाउन छोडेर वैचारिक पक्ष बलियो तर प्रचारबाजी सामान्य तरिकाको अपनाउन आगामी दिनमा कडा आचारसंहिता र अनुशासनका नियम लागू गर्नुपर्छ ।
स्वयं एमाओवादी पनि क्रिश्चियनहरूको माखेसाङ्लो तोडेर राष्ट्रिय भावनामा आउन सकेन भने उसको दुःखद विसर्जन अवश्यम्भावी छ । थेग्नै नसकिएका तथाकथित परिवर्तनले गर्दा देश स्वाभिमानहीन, सिद्धान्तहीन र लक्ष्यहीन बनेको वास्तविकता बुझ्न अझै पनि कसैलाई बाँकी छ भने उसबाट यो मुलुकले केही पाउने अपेक्षा गर्नु व्यर्थ हुन्छ । यो एजेन्डालाई टुंगो लगाउने जिम्मेवारी पनि नवनिर्वाचित सभापति देउवाको चुनौती बनेर उठेको छ । कांग्रेसले विगतका गल्तीहरूलाई लिएर ‘कोर्स करेक्सन' गर्नुपर्ने अनिवार्यता छ ।
कांग्रेसको नेतृत्व चयनमा माथिल्ला निकायदेखि तल्लो निकायसम्म पूर्ण प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउने कार्य आन्तरिक लोकतन्त्रको सफल अभ्यास हो । तर यससँगै देखा परेका निर्वाचन प्रचारबाजी अति पुरातन, भद्दा, फोहोरी र खर्चालु छ । पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासमा खर्चालु र भड्किलो शैली अपनाउन छोडेर वैचारिक पक्ष बलियो तर प्रचारबाजी सामान्य तरिकाको अपनाउन आगामी दिनमा कडा आचारसंहिता र अनुशासनका नियम लागू गर्नुपर्छ । आधुनिक प्रविधिलाई अधिकतम मात्रामा अपनाउनुपर्छ । निर्वाचन प्रक्रियामा शक्तिको सन्तुलन गरिएन, खर्चालु र भड्किलो शैली अपनाइयो भने निश्चित छ, भ्रष्टाचार र अन्य विकृति हावी हुन्छन् ।
नेपाल, नेपाली र कांग्रेस आज एकसाथ पीडित र प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । यो अवस्थाको निराकरण गरेर कांग्रेसलाई सशक्त बनाउन सकिन्छ । यथास्थितिवादी ढर्रा र परम्परागत मनोवृत्तिमा अल्मलिइरहने हो भने कांग्रेसका असफलता अझ निर्मम भएर देखापर्ने जोखिम पनि उत्तिकै छ । निर्वाचनको क्रममा देखा परेका प्रतिस्पर्धा र तीक्त अवस्थालाई सबैले जिम्मेवारीपूर्वक बिर्सेर विजयको उन्माद र पराजयको निराशा मेटाउनु जरुरी छ । सभापति देउवाले यस कार्यमा सफलता पाउनुभयो भने कांग्रेसमा उहाँकै नामबाट नवयुग सुरु हुनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...