-->
फिलिपिन्सबाट फर्केका विशेषज्ञ डाक्टर काठमाडौं विश्वविद्यालयद्वारा अस्विकृत

kathmandu-univercity

काठमाडौं– काठमाडौं विश्वविद्यालयले फिलिपिन्सको ‘रेजिडेन्सी ट्रेनिङ’ मार्फत एम.डी/एम.एस गरेर आएकाहरुलाई प्रध्यापक/शिक्षकको रुपमा लिन अस्विकार गरेको छ । काठमाडौं विश्वविद्यालयको यस्तो निर्णयसँगै लाखौं खर्च गरेर एमबिबिएस अध्ययनपछि एम. डि/एमएसको लागि फिलिपिन्स जानेहरुका लागि अन्यौलता सिर्जना भएको छ । अंग्रेजी प्रभुत्व भएको देश फिलिपिन्समा बार्षिक करिव ८० जना नेपाली डाक्टर विशेषज्ञ विषयको अध्ययन गर्न जाने गरेका छन् । विश्वविद्यालयको डिग्री बाहेक त्यहाँको नर्सिङ होम (विश्वविद्यालयको सम्वन्धन बिनाको) ले ट्रेनिङ स्तरको डिग्री दिने गरेको छ । सोही डिग्रीलाई काठमाडौं युनिभर्सीटीले मान्यता नदिएको हो ।
विश्वविद्यालयमा पढाउन या काम गर्न विश्वविद्यालय स्तरमै या प्रतिष्ठान स्तरको आधिकारीक क्याम्पसमा पढेर आउनुपर्ने काठमाडौं विश्वविद्यालय स्रोतले बताएको छ ।

के हो रेजिडेन्सि ट्रेनिङ ?
प्रायः अमेरिकी मोडलमा पढाई हुने फिलिपिन्समा मास्टर्स तहको पढाइलाई रेजिडेन्सि ट्रेनिङ भनिन्छ । ३ देखि चार वर्षसम्म एमबिबिएस अध्ययन सकेर पढिने यो विषय विशेषज्ञ स्तरको पढाई हो जसलाई नेपालमा एम.डि/एम.एस बराबार सम्मान प्रदान गरिन्छ ।

अमेरिकामा हरेक मेडिकल सेन्टर विश्वविद्यालय अन्तर्गत हुने भएपनि फिलिपिन्समा अपवाद बाहेक प्रायः मेडिकल सेन्टर विश्वविद्यालय विना संचालित छन् । विश्वविद्यालय विनाका मेडिकल सेन्टरले दिने प्रमाणपत्र ट्रेनिङ स्तरको हुने केयु स्रोतको तर्क छ ।

नेपालबाट कति जान्छन् विदेश ?
नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार २०१५ को जनवरीदेखि २०१६ जनवरीसम्म सबैभन्दा बढी चीनमा २१४ जना एमडी गर्न गएको देखिन्छ । त्यस्तै फिलिपिन्समा ७६ जना, भारतमा ६१, बंगलादेश ३९, इजिप्ट १४, पाकिस्तान ८, अमेरिका ८, अष्ट्रेलिया ६, जापान ४, किर्तीस्तान ४, थाइल्याण्ड २ तथा कोरिया, इरान, बेल्जियम र बेलायतमा एकएक जना गएका छन् ।

विशेषज्ञ स्तरको पढाई संसारमा विश्वविद्यालय या प्रतिष्ठान अन्तर्गत हुँदा फिलिपिन्सको रेजिडेन्सी ट्रेनिङलाई अब सरकारकाले पनि कडाई गर्दै लैजाने बताइएको छ ।

डिएम/एमसिएचमा रोक
विश्वविद्यालय स्तरबाट फिलिपिन्सको डिग्री लिएर नआएकोलाई काठमाडौं विश्वविद्यालय, विर अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिविले ट्रेनिङ डिग्रीलाई मान्यता नदिँदा विदेशमा पढेर आएका विशेषज्ञ डाक्टरले अति उच्च पढाईबाट बञ्चित हुनुपरेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.