-->
प्रधानमन्त्रीले बेइजिङमा भने, ‘चीन भ्रमण अभूतपूर्व सफल’

चैत्र ९, २०७२- चीनमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण अभूतपूर्व रुपमा सफल भएको दाबी गरेका छन् । मंगलबार साँझ नेपाली दूताबास बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उपलब्धिहरुले आफ्नो चीन भ्रमण सफल भएको उनले दावी गरे । इन्धन आयात सम्झौता अर्को छिमेकी मुलुक भारतको दवावमा नगरेको हो ? भन्ने प्रश्नमा उनले भने– ‘यदि दबाबमा परेर सम्झौता नहुने थियो भने इन्धन आयातभन्दा पनि महत्वपूर्ण पारबहन सम्झौता पनि हुने थिएन । इन्धन आयातमा हुने चुनौति र पूर्वाधारको अभावले अहिले नभएको हो । त्यो पनि हुन्छ ।’

भूकम्पपछिको पुनर्निर्माणमा नेपालले चीनसँगमात्र होइन सबै मित्रराष्ट्रँग सहर्काय गर्ने बताउँदै चीन, नेपाल र भारतबीचको त्रिदेशीय सहकार्यको चिनियाँ प्रस्तावलाई आफूले सहर्ष स्वीकार गरेको तर यसका लागि तीनवटै देशले छलफल गर्न आवश्यक रहेको उल्लेख गरे । आफ्नो भ्रमणलाई कत्तिको सफल मान्नुहुन्छ ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने ‘मूल्याङन गर्ने जिम्मा तपाईंहरुकै हो । उपलब्धि हेर्नुहोस् अनि आफैँलाई प्रश्न गर्न होस् ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई नेपाली र चिनियाँ थिङ्कट्याङ्क तथा व्यवसायीहरुले पनि सफल र उपलब्धिमुलक भएको प्रतिक्रिया व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पिताम्बर शर्माले प्रधानमन्त्री ओलीको चीन भ्रमण समय र परिस्थितिले महत्वपूर्ण भएको उल्लेख गरेका छन् । ‘यो भ्रमणलाई विगतका प्रधानमन्त्रीको भ्रमणसँग तुलना गर्न हुँदैन’ कान्तिपुरसँग कुरा गर्दै शर्माले भने ‘जटिल परिस्थितिमा चीनसँग पारवहन सम्झौता गरेकाले प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च मान्नुपर्छ’ थिङ्क ट्याङ्कका रुपमा चीनको एक क्षेत्र एक मार्ग कार्यक्रममा नेपालले के कस्तो लाभ प्राप्त गर्न सक्छ भन्ने कार्यक्रममा भाग लिन बेइजिङ आएका शर्माले पारहन सम्झौता र नेपाल र चीनबीचमा रेलवे सञ्जाल जोड्ने कुरालाई ऐतिहासिक उपलब्धिका रुपमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन् । सोही कार्यक्रममा भाग लिन आएका हरि रोकाले चाहिँ सम्झौता र भएका निर्णयको कार्यान्वयनबाट मूल्याङ्कन हुनुपर्ने बताए ।

नेपालका लागि पूर्वचिनियाँ राजदूत ली त प्यावोले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचमा नयाँ शिराको विकास भएको उल्लेख गरेका छन् । ‘एक्काइसौँ शताब्दीमा थुप्रै चुनौति र अवसर देखा परेका छन् । यस्तो अवस्थामा चीन र नेपालबीचको सम्बन्ध राजनीतिक भन्दा आर्थिक मुद्दामा केन्द्रित बनेको छ’ पूर्वराजदूत लीले भने ‘यो भ्रमणले नेपालमा चिनियाँ लगानीलाई उल्लेख्य रुपमा बढाउनेछ । चीन सरकारले प्रधानमन्त्री ओलीलाई उच्च सम्मान दिएको छ र नेपालप्रति बढी चासो राखेको छ ।’ चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्थाका एसिया तथा ओसियानिक विभागका निर्देशक प्राध्यापक हु सिसेङले नेपालसँग तीनवटा संभावना रहेको बताए । हुका अनुसार दुई ठूला अर्थतन्त्रमुलुकको बीचमा रहेको नेपालका लागि पहिलो अवसर भौगोलिक अवस्था हो । नेपालले दुवै मुलुकबाट अधिक लाभ प्राप्त गरेर आर्थिक फडो मार्न सक्छ । चीनले नेपालमार्फत भारतसम्म आफ्नो आर्थिक कारोबार बढाउन सक्छ । नेपालको जलसम्पदा दोस्रो संभावना रहेको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक लगानी गर्ने उनले बताए । तेस्रो अवसरका रुपमा नेपालको पर्यटन उद्योग रहेको उनले औँल्याए । प्रधानमन्त्री ओलीको चीन भ्रमणले तीनवटै अवसरमा चिनियाँको ध्यान तानेको बताउँदै उनले भने ‘यसलाई नियमित मान्नु हुँदैन । यो उल्लेख्य उपलब्धि हो ।’    

आम नेपालीले आशा गरेको पेट्रोलियम आयातको सम्झौता हुन नसके पनि चीनसँग भएका सम्झौता ऐतिहासिक भएको चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले बताए । ‘भूपरिवेष्टित मुलुक नेपालले पाएको पारवहन अधिकारलाई यत्रो समयसम्म हामीले वास्तै गरेनौ । सधैँ हामी एउटै देशमाथि आश्रित भयौँ’ भ्रमणको उपलब्धिलाई मूल्याङ्कन गर्दै राजदूत मास्केले कान्तिपुरसँग भने ‘चीनसँग इन्धन आयात सम्झौता पनि हुन्छ । त्यसैको आधारका रुपमा पारवहन सम्झौता भएको हो ।’      

प्रधानमन्त्री ओलीको भ्रमणमा नेपाली व्यवसायीहरु पनि निकै उत्साही देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले दुई देशबीचको आर्थिक कुटनीतिमा नयाँ आयाम थपिएको बताए । चिनियाँ व्यवसायीहरुले नेपालमा लगानी गर्नका लागि निकै चासो राखेको र प्रधानमन्त्री आफैँले प्रतिवद्धतासँगै चिनियाँ बैंकको शाखा खोल्ने सम्झौताले चिनियाँ लगानीकर्ताले ठूलो राहत महशुस गरेका छन् । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने ‘हामीले धेरै वर्षदेखि नेपालमा चिनियाँ बैंकको शाखा खोल्नुपर्छ भन्दै आएका थियौँ । यसले हाम्रा साझेदार चिनियाँ व्यवसायी तथा नेपालमा लगानी गर्न चाहने अन्य चिनियाँ व्यवसायीहरुलाई प्रोत्साहन मिलेको छ ।’




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.