सरकारले थाल्यो स्वास्थ्य बिमा कार्यक्रम
काठमाडौं: अढाइ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका कैलाली धनगढी नगरपालिका–३ का ७२ वर्षीय होमनाथ ढकाललाई आफू र परिवारका अन्य सदस्यमा पटकपटक स्वास्थ्य समस्या देखा पर्दा उपचारका लागि आर्थिक जोहो गर्न हम्मे पथ्र्यो । स्वास्थ्यभन्दा ठूलो धन अरू केही हुन सक्दैन भन्ने बुझेका ढकालले आर्थिक अवस्था कमजोर भएका कारण आफू, श्रीमती र सन्तानको उपचार गर्दा पाउने गरेको सकस अब हट्ने भएको छ ।
सरकारले ५० करोड रुपैयाँ छुट्याउँदै बिहीबार कैलालीमा सुरु गरेको बहुप्रतीक्षित स्वास्थ्य बिमा कार्यक्रमको पहिलो सदस्य बनेको छ ढकाल परिवार । अब स्वास्थ्यमा जुनसुकै समस्या आए पनि ढकाल परिवारका कुनै पनि सदस्यले सरकारले तोकेका स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार पाउनेछन् ।
सरकारी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्दै आएका आफ्नै छोरा शंकरले घरमै पुगेर बिमाको सदस्यता प्रदान गर्दा होमनाथ दंग परे । ‘भनेजति पैसा नहुँदा उपचार क्रममा धेरै दुःख झेल्नुपथ्र्यो, रोगले च्याप्यो भने महँगो उपचार गर्न सकिन्न कि भन्ने डर मनमा उब्जिन्थ्यो', ढकालले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘यो बिमाले अब हामीलाई बचाउँछ भन्ने आशा जागेको छ । हामीले मात्र होइन सबै नेपाली नागरिकले यो सेवा छिट्टै पाउन सकून् यही छ मेरो इच्छा ।'
छोरा शंकरले यो बिमा कार्यक्रमबाट धेरै मानिस जटिल रोग लाग्नबाट बच्न सक्ने बताए । ‘मानिस थला नपरेसम्म अस्पताल जाँदैनन्, त्यसमा पैसाले पनि ठूलो प्रभाव पार्ने रहेछ । एकैपटक ठूलो रकम तिरेर उपचार गर्ने धेरै नेपालीको क्षमता छैन । यो बिमाले त्यस्तो समस्या समाधान गर्न सहयोग गर्छ', उनले भने, ‘केही समस्या नदेखिए पनि आफूले बचत गरेको रकम त्यत्तिकै खेर जाने भो भन्ने डरले पनि मानिस स्वास्थ्य जाँच गर्न जान्छ जसबाट ठूल्ठूला रोग लाग्नबाट ऊ बच्न सक्छ । त्यसैले यो बिमा सबैले गर्नुपर्छ जस्तो मलाई लाग्यो ।'
नमुनाका रूपमा कैलालीमा बिहीबार सुरु भएको स्वास्थ्य बिमा सरकारले चाँडै बागलुङ र इलाममा पनि लागू गर्ने भएको छ ।
उनले सबैलाई यो बिमा सेवाको पहुँचमा पुर्याउन र निरन्तरता दिन सरकारले स्तरीय सेवा र निरन्तर अनुगमनमा ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रम सुरु गर्न कैलाली पुगेका स्वास्थ्य मन्त्रालयका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका सदस्य शाखा अधिकृत तुल्सी भट्टराईका अनुसार ढकाल परिवारसँगै बिहीबार कैलालीमा ३० जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । उनले सरकारी स्वास्थ्य बिमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने बताए ।
ओपीडी जाँचदेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने भनिए पनि अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपर्न बिमा सदस्यता लिएकालाई उनले आग्रह गरे । बिमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ ।
बिमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक दुई हजार पाँच सय ‘प्रिमियम' बुझाएपछि ५० हजार रुपैयाँसम्मको उपचार पाउनेछन् । भट्टराईका अनुसार एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले चार सय ५० रुपैयाँ वार्षिक प्रिमियम बुझाएमा १० हजार रुपैयाँको उपचार सेवा थप हुनेछ । बिमाका लागि अति गरिब परिवारको ‘प्रिमियम' सरकारले बुझाउनेछ । गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत ‘प्रिमियम' सरकारले तिर्नेछ ।
यस वर्ष तीन जिल्लामा नमुनाका रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भनिए पनि स्वास्थ्यमन्त्री रामजनम चौधरीको पहलमा उनकै गृहजिल्ला कैलालीबाट यो सुरु गरिएको हो । समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीका अनुसार कैलालीपछि बागलुङ र इलाममा पनि छिट्टै उक्त बिमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा मन्त्रालय छ ।
प्रभावकारी बन्दै गएमा केही वर्षभित्रै मुलुकभर उक्त कार्यक्रम विस्तार गर्ने योजना रहेको स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले बताए । सरकारले तीन वर्षपहिले नै सञ्चालन गर्ने भन्दै घोषणा गरेको उक्त बिमा कार्यक्रम गृहकार्यको कमीले रोकिएको थियो । बिमा कार्यक्रमका लागि गत वर्ष सरकारले एक अर्ब रुपैयाँ छुट्याए पनि काम हुन सकेको थिएन ।
0 comments
प्रतिक्रिया दिनुहोस्...