-->
चरखण्डीमा स्नान गर्नेको घुइँचो, गाउँ गाउँमा बिस्केट जात्रा

भक्तपुर,  अनन्तलिङ्गेश्वर नगरपालिका, दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहान ३ बजेदेखि नै स्नान गर्नेको घुइँचो लागेको छ ।

आज चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डेश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास छ ।

सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा पुनःजीवित बनेको किंबदन्ती रहेको स्थानीय संस्कृतकर्मी एवम् अनुसन्धानकर्ता रत्न सायमीले जानकारी दिनुभयो ।

यहाँको कुण्डमा नुहाए जिउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ ।

मन्दिर परिसरमा शरीरमा बत्ती बालेर बस्ने पनि रहेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बिहान ५ बजेदेखि नै तीन खटसहित खट जात्रासमेत गरिएको छ ।
त्यसैगरी दधिकोटको चित्रपुरस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ । त्यहाँ गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।

यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । यहाँ गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले सञ्चालनमा ल्याएको जात्रा अन्तर्गत गणेशको खट जात्रा गरिएको छ । यहाँबाट सुरु भएको खट जात्रा बालकोट र सिरुटारका विभिन्न ठाउँको परिक्रममा गरी पुनःमन्दिर परिसरमै आएर समापन गरिएको छ ।

त्यसैगरी सुडालमा दुईवटा खट सहितको जात्रा सञ्चालन गरिएको छ । खटलाई विभिन्न टोलको परिक्रमा गराई बाजागाजाका साथ पूजा गरेर जात्रा मनाइएको छ । त्यसैगरी कुटञ्जेको सुशील भैरवमा आज बिहानैदेखि खट जात्राका साथ मेला लागेको छ ।

थिमीमा रातभरि जात्रा
मध्यपुर थिमीका बासिन्दाले मनाउने प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकाली जात्रा आज थिमीमा मनाइएको छ । विष्णुवीर जात्राको सुरूमा स्थानीय प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन गइन्छ । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेश लगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा समेत परिक्रमा गराइएको छ ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्परा अनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीयवासी श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको छ । जात्रामा मलामी जाँदा झँ टोपी फुकालेर जाने परम्परा अहिलेसम्म छ ।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ ।

त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारी लगायत अन्य देवगणलाई सिन्दुर चढाई आआफ्ना स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा छ । बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराई बालकुमारीमा योमरी जात्रा मनाइएको छ ।

बालकुमारी र दक्षिणबाराही जात्रा

वैशाख १ गते राति ३ बजेदेखि सुरु भएको बालकुमारी तथा दक्षिण बाराहीे जात्रा आज बिहान सम्पन्न भएको छ । यसलाई चान्हेसिया अर्थात् रात्रिको जात्रा पनि भन्ने गरिन्छ । मध्यपुरथिमीका बासिन्दाले मनाउने उक्त जात्रामा राति बालकुमारीलाई थिमिको लायकु दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।

चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यका घरबाट लायकुमा ल्याइन्छ । त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकु अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमीको अधिकाश घरबाट निस्केको हजाराँै चिराग बालेर र धिमे बजाएर दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याइन्छ ।
पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । सो जात्रा म¬ङ्गलबार साँझ सुरु भई आज बिहान करिब ४ बजे सम्पन्न भएको थियो । रासस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.