उहिया (गोरखा): दुई साताअघि दुर्गम गाउँ उहिया ५ विकटोलकी सुनिता सुनारको महिनावारी हुँदा बेस्सरी रगत बग्यो । तल्लो पेट खपिनसक्नु गरेर दुखेको थियो । ढाडमा सहनै नसक्ने गरी झस्का लागिरहेको थियो । ज्यान उस्तै चिलाएर हैरान । यही बेथाले उनी १२ दिनदेखि घरभित्रै ओछ्यान परेकी छन् ।
बेथा निको बनाउन गत मंगलबार साँझ उनका आफन्तजन, गाउँका जान्ने धामीझाँक्री घरमा आए । सुनिताका श्रीमान् जितरामले कान्छा झाँक्रीको हातमा कुखुराको सेतो पोथी थमाए । जान्ने धामी छबिलाल सुनारले सुनिताको नारी छामे । ‘नारी छाम्दा कुलदेवता बिग्रिएको, बोक्सी लागेको वा हेल्थपोस्ट लानु पर्छ भन्ने पत्ता लाग्छ' केहीबेर नारी छामेर उनले भने, ‘हेल्थपोस्ट लानु पर्दैन । कुलदेवता रिसाएको पनि होइन । बोक्सी लागेको हो ।'
सहयोगी चना विकले चामलको पीठोको, बेसारको र कालोमोसोको रेखी हाले । चामलको भात जुटाए । धूप हाले । केहीबेर फुकफाक गरेपछि कान्छा झाँक्रीले बिरामीको टाउकोमा कुखुराको पोथी घुमाए । आँगनमा लगेर पनि केहीबेर पूजा गरे । पोथी काटेर कलेजो निकाल्दै हेर्न थाले । कलेजोको कुन कुनामा दाग छ, कुन कुनामा खुम्चा परेको वा केही भाग उठेको छ । केहीबेरपछि कुखुराको मासु र भातको भोज चल्यो ।
गाउँको हेल्थपोस्टका अहेब शुभनारायण दास यो दृश्यले छक्क परे । उहियाका बिरामी स्वास्थ्य चौकीभन्दा झारफुकमै बढी विश्वास गर्ने उनले बताए । ‘यी महिलालाई पाठेघरको गम्भीर समस्या छ । क्यान्सर पनि हुनसक्छ', उनी भन्छन्, ‘तुरुन्त अस्पताल लैजाऊ भन्यो, मान्दैनन् । पाठेघरको शल्यक्रिया गरेर फाल्नु पर्ने पनि हुनसक्छ ।' बेलामा सही उपचार नपाए बिरामीको ज्यान खतरामा रहेको उनको भनाइ छ ।
सुनिताका श्रीमान् जितराम भने उपचार गराउन नलैजाने निचोडमा छन् । ‘पाँच, छ महिनाअघि राहत बाँड्ने हेलिकोप्टरमा राखेर गोरखा अस्पताल लगेको हो', उनी भन्छन्, ‘त्यहाँ पनि सक्दिनँ, भरतपुर लैजाऊ भन्यो । भरतपुर लैजाने पैसा थिएन । बोकेर फर्काएँ ।' साउदी, कतार जाने चक्करमा गाउँमा लाख, डेढ लाख रुपैयाँ ऋण लागेको र ऋण पनि तिर्न नसकेकाले उपचार खर्चका लागि कसैले ऋण नपत्याउने उनले गुनासो गरे ।
‘म त पागल हुन मात्र बाँकी छ । यही झारफुकले बाँचे बाँच्छ, बजार लैजान त सक्दिनँ' उनी भन्छन्, ‘यता गर्दा नि हुन्न । उता गर्दा नि हुन्न । आफूसँग कति पनि पैसा छैन । कसैले ऋण पत्याउँदैन ।' उनले फलाम कुटेर परिवार पाल्दै आएका छन् ।
२८ वर्षकी सुनिता जितरामकी दोस्रो श्रीमती हुन् । उनले अहिलेसम्म सात सन्तान जन्माएकी छन् । ‘सातवटा पाएको थिएँ । पाँचवटा मरे । दुईजना मात्र बाँचेका छन्', सुनिता भन्छिन्, ‘पाठेघरकै समस्या हो । ३०/४० हजार रुपैयाँ खर्च लाग्छ, भरतपुर जाऊ भनेका थिए गोरखाका डाक्टरले । तर कसले लैजाने । १२ दिन भयो, रगत बगेको बग्यै छ । अब त मर्छु झैं लागेको छ ।'
पाठेघरको समस्याले थला परेकी सुनितालाई उपचार गराउने उनको परिवारको पनि कुनै तयारी नरहेको अहेब दास बताउँछन् । उनी भन्छन्, ‘३०/४० हजार रुपैयाँ खर्च गरे उपचार हुनसक्छ । उपचार गराउन लैजाऊ भनेर बारम्बार भनेका छौं । हामीले बाटो देखाइदिने हो । आफैंले हात समातेर लैजान सकिँदैन ।'
गाउँमा धामी झाँक्री नै डाक्टर
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...